कपिलवस्तु कृष्णनगरमा यादव परिवारले एकैदिन गुमाए दुई छोरा – Nepal Press

कपिलवस्तु कृष्णनगरमा यादव परिवारले एकैदिन गुमाए दुई छोरा

रूपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ५ बगहीमा खाडलमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ ।

स्थानीय रामअवतार यादवको परिवारले दुईभाइ नाबलक छोरालाई एकैपटक गुमाउनु परेको हो । मंगलबारदेखि हराएका ५ वर्षका राजन यादव र ७ वर्षका साजन यादवको शव घर नजिकैको पोखरीमा बुधबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मीन घलेले नेपाल प्रेसलाई बताए ।

‘घरनजिकै खनेको खाडल रहेछ, सामान्य हेलचेक्र्याईंले दुवै बालकको ज्यान गएको देखिन्छ’, उनले भने ।

मंगलबार प्रहरीलाई बालकहरू हराएको भनी राति ९ बजे जानकारी गराइएपनि नभेटेपछि बुधबार बिहान भेटाएको उनले बताए ।

‘खोजतलास गर्ने क्रममा बुधबार बिहान डुबेको अवस्थामा शव फेला परेको हो, विपद यस्तो भेटियो’, उनले भने । माटो निकालेर पानी जमेको खाडलमा वर्षाको पानी जमेको र त्यहीँ डुबेको अवस्थामा दाजुभाइको शव फेला परेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सो वडाका वडाध्यक्ष मोहम्मद जलिम खाँले यादव परिवारले कलिलो उमेरका दुई छोराहरू एकैपटक गुमाउन परेको बताए । ‘विपद् पनि कस्तो लागेको हो, भरखरका दुई छोराहरू अकालमै गुमे, परिवारमा कस्तो पीडा छ, सिंगो गाउँ शोकमग्न छ’, उनले भने ।

गतवर्ष पनि खाडलमा डुबेर कपिलवस्तुमा बालबालिकाले ज्यान गुमाएका थिए । घरछेउँमा पोखरी खनेर राखेका यस्ता घटना हरेक वर्ष दोहोरिँदा बालबालिकाले यसरी ज्यान गुमाउनु परेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर