बजेटले कसलाई पुग्छ ? त्यसैले वडाध्यक्षको नेतृत्वमा जनप्रतिनिधि र स्थानीयले गर्छन् श्रमदान (भिडिओ)


रामेछाप । जनप्रतिनिधिको इच्छाशक्ति र समुदायप्रतिको सेवाभाव भयो भने बजेटभन्दा बाहिरको काम गरेर पनि समस्या समाधान गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्,रामेछापको लिखु तामाकोशी वडा नम्बर २ का वडाध्यक्ष सन्तोष पौडेल र उनको चार सदस्यीय टिम ।
एकजना मात्र पनि नागरिक अशक्त छ भने घरमै गएर सामाजिक सुरक्षा भत्ता र राहत दिने गरेको यस वडाले वर्षौँदेखि सामान्य सेवा सुविधा नपाएका वडाकै दुर्गम लेकाली गाउँमा बत्ती बाल्न सफल भएको छ ।
पछिल्लो समय वर्षाको कारण कच्ची सडक जताततै बिग्रिएका छन् । लगातारको वर्षाको कारण सडक अस्तव्यस्त छन् ।
गाउँमा यातायात चल्ने सडक बिग्रिएपछि वडाध्यक्ष सन्तोष पौडेल भने आफैँ गल, गैँची र साबेल बोकेर सडक मर्मतमा निस्किएका छन् । उनीसँगै अन्य चार सदस्य नेत्र बस्नेत,केशर कार्की,सुमित्रा राई र एकामा विश्वकर्मा पनि खटिने गरेका छन् ।
वर्षाले बिगारेर यातायात साधन चल्न नसक्ने सडकमा ढुङ्गा छाप्ने काममा वडाध्यक्ष अन्य जनप्रतिनिधि र स्थानीयसँग श्रमदानमा जुटेपछि सडक अवरुद्ध भए पनि केही समयमा सहज बन्ने गरेको छ ।
काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थली हुँदै धोबीबाट वडा नं २ को दिलौरी–ढाँडे जाने र धोबीबाट सिरिसे–ढाँडे जाने दुईवटा प्रमुख सडक छन् । ती सडकमा वर्षाको कारण यातायात चल्न नसक्ने भएपछि श्रमदानमा निस्किएको पौडेलले बताए ।
केही दिन अघि पहिरो गएर रोकिएको बाटो डोजर लगाएर खोलिएको भए पनि अहिले हिलोले सडक चिप्लो भएर ठाउँ ठाउँमा यातायात साधन चल्न नसक्ने भएपछि ढुङ्गा सोलिङ गर्ने काम थालिएको उनले बताए ।
वडासँग पर्याप्त बजेट नभएको कारण ढुङ्गा ओसार्ने ट्याक्टर खोजेर श्रमदानबाट सडक मर्मतको काम गरिएको उनको भनाइ छ । पौडेल वडाध्यक्षमा निर्वाचित भएपछि नागरिकका साना साना काममा स्थानीय बताउँछन् ।
आर्थिक अभावको कारण बिजुली बत्ती बाल्न नसक्ने स्थानीयको घरमा आफैँ गएर वारिङ गरी १० भन्दा बढी घरमा पौडेलले बत्ती बाली सकेका छन् ।