कसले जित्ला मदन पुरस्कार ? यी चर्चित पुस्तक छुटे – Nepal Press

कसले जित्ला मदन पुरस्कार ? यी चर्चित पुस्तक छुटे

काठमाडौं । मदन पुरस्कार २०७९ का लागि शीर्ष पाँच पुस्तकको सर्टलिस्ट सार्वजनिक गर्‍यो । मदन पुरस्कार गुठीले सार्वजनिक गरेको सूचीमा सुविन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थांग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’ समावेश छन् ।

भट्टराईको ‘इजोरिया’ परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई मुख्य विषय बनाइएको यस उपन्यास तराई मधेशको परिवेशमा लेखिएको छ ।

युवाहरूका प्रेम, सम्बन्धमाथि लेखेर चर्चा पाएका भट्टराई ‘इजोरिया’मा भने सामाजिक विषयवस्तुलाई समेटेका छन् । उनको यस पुस्तक फाइनप्रिन्टले बजारमा ल्याएको हो ।

ओझाको ‘ऐँठन’ भने दुई दशक अघिको जनयुद्धलाई केन्द्रीय विषय बनाइएको उपन्यास हो । जनयुद्धको परिवेशमा आञ्चलिक भाषामा ओझाले पश्चिम नेपालको कथा भनेका छन् । सांग्रिला बुक्सले बजारमा ल्याएको ओझाको ‘ऐँठन’ दोस्रो उपन्यास गो । उनको यसअघि ‘ऐलानी’ उपन्यास सार्वजनिक छ ।

त्यस्तै २०५२ देखि २०५५ सम्म जलस्रोत मन्त्रालयको सचिव रहेका ढुंगेल चर्चित महाकाली सन्धिको मस्यौदा तयार पार्ने देखि सन्धिमा हस्ताक्षर हुँदासम्म भारतसँग भएका द्विपक्षीय संवादका एक प्रमुख सरकारी कर्मचारी थिए । ढुंगेलको यो संस्मरणात्मक कृति हो ।

राईको ‘थांग्रा’ उपन्यासमा भने दुई छोरी हुँदाहुँदै एक प्रसिद्ध लेखकले छोराको खोजीमा दोस्रो विवाह गर्न खोजेको विषयलाई मूल कथा बनाइएको छ ।

उपन्यासमा प्रगतिशील लेखकलाई केन्द्रीय पात्र बनाएर राईले पितृसत्तात्मक सोचको चिरफार गरेकी छन् । यस उपन्यास फिनिक्स बुक्सले बजारमा ल्याएको हो । यसअघि राईको ‘लेखककी स्वास्नी’ चर्चित पुस्तक हो ।

दार्जिलिङका लेखक विष्टको ‘माटाका घर’ भने दार्जिलिङमा चलेको गोर्खाल्याण्ड आन्दोलनबाट सृजित बेमेल परिस्थितिहरूलाई मुख्य विषय बनाएर लेखिएको आख्यान हो । यस पुस्तकमा लेखक स्वयंका आफ्नै संघर्षका कथाहरू पनि समावेश छन् ।

सूचीमा परेका शीर्ष पाँच पुस्तकमध्ये एक पुस्तकले २०७९ को मदन पुरस्कार प्राप्त गर्नेछ । मदन पुरस्कारको राशी चार लाख रुपैयाँ रहेको छ ।

कुन कुन पुस्तक परेनन् ?

बाल विशेषज्ञ डाक्टर नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तकले निकै चर्चा पाए पनि मदन पुरस्कारको सूचीमा समावेश हुन सकेन । त्यस्तै चर्चित लेखक बुद्धि सागरको उपन्यास ‘एक्लो’ पनि सूचिमा परेन । तर बुद्धि सागर स्वयंले आफूलाई पुरस्कार नदिन अनुरोध गर्ने गरेका छन् ।

गत वर्ष प्रकाशित भएको कवि रमेश क्षितिजको चर्चित कविता संग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ पनि सूचीमा समावेश हुन सकेन । त्यस्तै मदन पुरस्कार पाइसकेका लेखक रामलाल जोशीको नयाँ पुस्तक ‘बाआमा’ पनि सूचिमा समावेश भएन ।

जानुका खतिवडाको उपन्यास ‘आतोओडा’, चन्द्र गुरुङको कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’, हरिबोल काफ्लेद्वारा लिखित उपन्यास ‘यशोधरा’ पनि गत वर्ष सार्वजनिक भएका चर्चित पुस्तकहरू हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *