लाइफ टाइम सडक योजना बनाउन मन्त्री ज्वालाले थाले छलफल
विज्ञ भन्छन्- खर्चिलो भए पनि सुरुङ मार्गमा जाऊ


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल शुरु गरेका छन् ।अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रित भएर छलफल शुरु गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताए ।
नेपालमा विगत र वर्तमानका सडक अवस्था, जोग्राफिकल, जियोग्राफी र भविष्यमा कस्ता सडकमा बनाउँदा लाइफ टाइम सडकको सुरक्षा हुनसक्छ भन्ने विषयमा छलफल शुरु गरिएको छ ।
छलफलमा मन्त्री ज्वालाले भौगोलिक विकटताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतीलाई कसरी हल गर्ने भन्ने विषयमा विज्ञ टोलीसँग राय सल्लाह दिएका हुन् ।
मन्त्रीले भने, ‘सडक गाउँ बस्तीमा पुर्याउने हो । तर हाम्रा धेरै गाउँवस्तीहरु चुरे र महाभारत शृखंलामा रहेका छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौती छन् ।’
पूर्वाधार विज्ञ सुरेशराज आचार्य, विज्ञ मेघराज घिताल, फ्रोफेसर डा. तारानिधि भट्टराई, बिबी देउजालगायतका विज्ञसँग छलफल शुरु भएको हो । विज्ञ टोलीले दृश्यसहितको प्रस्तुति गरेको छ । धेरै खर्चिलो भए पनि नेपालको भूगोल अनुसार सुरुङ मार्गमा जान विज्ञ टोलीले सुझाव दिएको छ ।
जति राम्रो सडक बनाए पनि बाढी पहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ । त्यो समस्या हल गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकहरूको तत्काल अध्ययन थाल्न विज्ञ टोलीले सुझाव दिएको छ । छलफलमा मन्त्रालयका सबै सहसचिवको पनि सहभागिता रहेको छ ।