भन्सार छली गर्ने निगम र चालकलाई जरिवाना हुँदा सञ्चालकलाई सफाई – Nepal Press

भन्सार छली गर्ने निगम र चालकलाई जरिवाना हुँदा सञ्चालकलाई सफाई

जरिवाना तिर्न नसक्ने निगम प्रमुखको भनाइले चालकमात्रै फँस्ने सम्भावना

रुपन्देही । रुपन्देहीको भैरहवा भन्सार कार्यालयले भन्सार छली गर्ने आयल निगम, सवारी चालकलाई जरिवाना गराएपनि पेट्रोल ढुवानी गर्ने मुख्य संचालकलाई सफाई दिएको छ ।

भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानीका क्रममा भन्सार छली तथा चोरी पैठारी मुद्दामा नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारी र ट्याङकरका चालकलाई दोषी ठहर गर्दै २० लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला भन्सार कार्यालयले गरेपनि यो मुद्दामा पेट्रोल ढुवानीकर्ता एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक चोपनारायण श्रेष्ठलाई सफाई दिइएको छ ।

यता यसरी आयल निगमको भलबारी डिपोलाई नै दोषी ठहर गरी जरिवाना तिराउने निर्णय भने पहिलो भएको हो ।

यही बैशाख ८ गते इण्डियन आयल कर्पोरेसनमार्फत भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर नेपाल ल्याउंँदै गरेको लु २ ख ४८३९ नम्बरको पेट्रोल बोकेको ट्याङकरलाई प्रहरीले भन्सारमा नियन्त्रणमा लिई नापजाँच गर्दा निगमले तोकेको भन्दा बढी परिमाण पाइएपछि कारवाही प्रकृया अघि बढाएको थियो ।

तत्कालीन समयमा नै संचालकलाई छानविनमा नल्याइएको आलोचना भएको थियो । यो घटनामा नेपाल आयल निगमबाट जारी भएको प्रोडक्ट डेलिभरी अर्डर (पिडिओ) मा २० हजार लिटर पेट्रोल ढुवानी गर्ने स्वीकृति रहेकोमा उक्त ट्याङकरले स्वीकृति पाएको भन्दा ३ हजार ३ सय ८४ लिटर बढी आयात गरेको नापजाँचको क्रममा प्रमाणित भएको थियो ।

यरी कानु विपरीत पेट्रोल ढुवानी गरेको घटनामा इलाका प्रहरी कार्यालय बेलहियाले सल्यानको शारदा नगरपालिका १४ का ट्याङकर चालक ३० वर्षीय अजय केसी, एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक बुटवल वडा नं ४ का ६९ वर्षीय चोपनारायण श्रेष्ठ र नेपाल आयल निगम प्रादेशिक कार्यालय भलबारीलाई प्रतिवादी बनाई भन्सार कार्यालयमा मुद्दा दायर गरेको थियो ।

लामो समयको अध्ययनपछि मुद्दाको फैसला गर्दै भैरहवा भन्सार कार्यालयले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयलाई दोषी ठहर गर्दै १६ लाख २४ हजार ३२० रुपैयाँ र ट्याङकरका चालक अजय केसीलाई ४ लाख ५६ हजार ८० रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ ।

यस्तै प्रतिवादी बनाइएका ढुवानीकर्ता कम्पनीका सञ्चालक चोपनारायण श्रेष्ठलाई सो मुद्दामा निर्दोष ठहर गर्दै सफाई दिएको छ । सफाई पाएसंगै श्रेष्ठले भन्सार कार्यालय र नेपाल आयल निगममा जम्मा गरेको नगद धरौटी रकम र उनको स्वामित्वको ट्याङकर कानुनको म्यादभित्र फिर्ता दिन निर्देशन गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

पेट्रोलियम पदार्थ आयात गर्दा ‘ग्रीनलाइन च्यानल’ मापदण्ड अनुसार स्वघोषित प्रणालीलाई आधार मानेर भन्सार कार्यालयले भन्सार शुल्क लिने र ट्याङकरलाई नापजांच नगर्ने कानुनी व्यवस्था छ । उक्त ट्याङकरका चालकको आर्थिक हैसियत अस्वभाविकरुपमा बृद्धि भएको देखिएकाले प्रहरीले शंका लागेर उक्त दिन नापजांच गर्दा स्वीकृत भन्दा बढी परिमाण भेटिएको हो ।

पिडिओमा स्वीकृतभन्दा बढी परिणाम भेटिएपछि आयल निगमलाई भन्सार कार्यालयले बढी परिमाणको कूल मूल्यको ५ सय प्रतिशत थप गरी जरिवाना गर्ने कानुनी व्यवस्था अनुसार निगम र चालकलाई जरिवाना तिराउने निर्णय गरेको भन्सार कार्यालयले जनाएको छ । उक्त घटनामा ३ हजार ३ सय ८४ लिटर पेट्रोलको भन्सार छली हुंदा एक लाख ३८ हजार ७ सय ४४ रुपैयां सरकारको राजस्व गुमेको थियो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख जगदिश यादवले भारतका पेट्रोल पम्पबाट इन्धन खरिद गरी नेपाल ल्याएर बेच्ने उद्देश्यले चालकहरुले बदमासी गरेका कारण परिमाणभन्दा बढी इन्धन भेटिएको बताए ।

इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमले पठाएको पिडिओमा उल्लेख भन्दा बढी परिमाणको इन्धन दिने सम्भावनै हुन्न तर चालकहरुले पेट्रोल पम्पहरुबाट किनेर ल्याई नेपालमा बेच्ने उद्देश्यले बद्मासी गरेका कारण निगम दोषी देखिएको उनले बताएका छन् ।

निगमलाई जरिवाना तिराउने निर्णय भएपनि त्यति ठूलो रकम जरिवना तिर्न नसक्ने बताउँदै उनले विनियमावलीमा पनि ढुवानीका क्रममा परिमाण तलमाथि भए ढुवानीकर्ता जिम्मेवार हुने व्यवस्था रहेको उनको भनाइ छ । उनको भनाइले भन्सारको यो निर्णय चालकलाई मात्र हुने भएको छ ।

यादवले भन्सार पास भएपछि इन्धन बोकेका ट्याङकर सिधै निगमको डिपोमा आउनुपर्ने वाध्यकारी व्यवस्था नहुँदा चालकले ५ दिनसम्म आफुखुशी ट्याङकर राख्न पाउंदा चोरी तस्करी बढेको बताउँदै निगमको डिपोको भण्डारण क्षमता कम भएका कारण भन्सारबाट सिधै डिपोमा ट्याङकर आउनुपर्ने व्यवस्था गर्न नसकिएको जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *