पक्राउ पूर्जीपछि आरके अदिप्त गिरी भन्छन्- कालीगण्डकीको सभ्यता जोगाउने लडाईं सुरू भयो – Nepal Press

पक्राउ पूर्जीपछि आरके अदिप्त गिरी भन्छन्- कालीगण्डकीको सभ्यता जोगाउने लडाईं सुरू भयो

‘पत्रकारिताको आडमा धन्दा गरिरहेकाहरूको तारो भएको छु’

काठमाडौं । पत्रकारविरूद्ध फेसबुकमा स्टाटस लेखेको आरोपमा पर्वतका लेखक तथा अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सञ्जालमा धेरैले यसप्रति खेद प्रकट गरिरहेका छन् ।

पर्वतका पत्रकारलाई लक्ष्यित गर्दै गिरीले फेसबुकमा केही स्टाटस लेखेका थिए । त्यसप्रति आपत्ति जनाउँदै जिल्ला प्रहरी कार्यालयमा केही पत्रकारले उजुरी दिएपछि गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

स्वतन्त्र फोटोपत्रकार र लेखक भएर डेढ दशक काठमाठौंका बसेका गिरी तीन वर्षअघि गृहजिल्ला कुस्मा फर्केका थिए ।

कुस्मा फर्केर उनले कालीगण्डकी नदीमाथि भएको दोहनमाथि आवाज उठाउँदै आएका छन् । सामाजिक संजालमा ‘काली गण्डकी बचाउ अभियान’ नै संचालन गरिरहेका छन् । सर्वोच्च अदालतले कालीगण्डकी नदी अवैध रुपमा हुने दोहनमा रोक लगाए पनि दोहन नरोकिएपछि जिल्ला फर्केर उनले अभियान नै संचालन गरेका थिए ।

उनले कालीगण्डकी नदी बचाउ अभियान चलाउनुको साथै निजी प्रयासमा पुरातात्विक महत्वका वस्तुहरु, संस्कृति, भाषा, साहित्यको संरक्षण गर्न ‘शताब्दी घर’ पनि संचालन गरिरहेका छन् । सय वर्षभन्दा पुराना घरहरुको संरक्षण गर्दै मौलिकताको खोजी गरिरहेका गिरीमाथि अचानक पक्राउ पुर्जी जारी भयो । यही सन्दर्भमा नेपाल प्रेसले गिरीसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईंलाई पक्राउ पूर्जी नै जारी गरिनुपर्ने घटना के हो ?

पत्रकारको खोल ओढेका तस्कर, दलाल, माफियालाई अस्ति सम्पत्ति सुद्धिकरणले कारबाही गरिदियो । अर्कोतिर महालेखा परीक्षकको कार्यालयमा उनीहरुविरुद्ध ३६ लाखको वेरुजु छ । बास्केट फन्डको नाममा यिनीहरुले पर्वतका सातवटै पालिकाबाट वर्षमा करोडौं रकम असुल्छन् । त्यहीँबाठ ३६ लाख बेरुजु दखिएको छ भनेपछि यिनीहरुले कस्तो कर्म गरेका होलान् ?

यिनीहरुलाई पत्रकार महासंघले कारबाही पनि गर्यो । उनीहरूले पत्रकार महासंघमा तालाबन्दी पनि गरे । पत्रकारका नाममा अनेक धन्दा चलाएका छन् । यिनीहरु शुद्ध पत्रकार हुँदै होइनन् । यस्ताहरुको विरुद्ध म तीन वर्षदेखि लडिरहेको छु । स्थानीय पत्रिकालाई कसरी जोगाउने, ती पत्रिकालाई के आर्थिक स्रोतमा भर पर्ने भनेर काम गर्दै आएको छु । लोकतन्त्र त संचारमाध्यममा भरपर्ने कुरा हो नि त ! हामीले के सूचना दियौं, समाजका विभिन्न तहतप्काका कस्ता कथाहरु लेख्यौं भन्ने कुरामा लोकतन्त्र निर्भर रहन्छ ।

नाफामुखी बाटोमा हिँड्नेहरुको बाटो छुट्टै हो । व्यवसाय, व्यापार गर्ने हो नि । पत्रकारितालाई बदनाम गराएर पैसा कमाउने धन्दाको रुपमा प्रयोग गर्नुभएन ! पत्रकारिताका पनि आचारसंहिता छन् नि !

तपाईंले पत्रकारको व्यक्तिगत जीवनमै असर गर्ने गरी लेख्नुभयो भन्ने छ नि ?

लाजको पसारो ! व्यक्तिको प्रतिष्ठामा आँच आउने के गरेको छ र ? कसैको नाम किटान गरेर लेखेको छैन । मैले आम प्रवृत्तिमाथि लखेको थिएँ । मिडियाले संकट झेलिरहेको यो समयमा समाजले पत्याउने काम गर्नुपर्यो नि पत्रकार भएपछि । यहाँ त पत्रकारहरु धन्दा गरेर हप्ता असुल्ने जस्ता छन् । यिनीहरुको सातवटै पालिकामा कब्जा छ । अधिकांश पत्रकार कोही सरकारी स्कुलका जागीरे, कोही आइएनजीओ, एनजीओ, कोही नेताका पिए छन् ।

मैले उनीहरुको व्यक्तिगत जीवनमा असर गर्नका लागि त नाम नै किटान गरेर लेखेको हुनु पर्यो नि ! तर लाग्दैन, नाम नै किटान गरेर सार्वजनिक गर्ने दिन पनि आइसक्यो ।

पत्रकारहरुकै पछि चाहिँ किन लाग्नुभयो ?

मैले पनि पत्रकारिता गरेरै आएको हुँ । मैले मर्म, धर्म बुझ्छु । घर आउँदा यहाँ नदीनालाको दोहन भएको दखेँ । तस्करहरुसँग मिलेर पैसा असुल्ने पत्रकारहरु भेटेँ । नदी दोहन गरेर रजाइँ गर्नेहरु भेटेँ । देश चहारेँ, विदेश चहारेँ । घर आँगनमा आउँदा मन रम्नुपर्ने थियो, रमेन । मन कुँडाएर हिँड्नुपर्ने अवस्था छ । अनि यहाँ सबै दलालको चंगुलमा परेर मिलिभगतमा खानेहरु मात्रै थिए ।

राम्रा मान्छे पनि यिनीहरुको कारण विस्थापित भएर गएका रहेछन् । त्यही भएर मैले आवाज उठाएँ । काठमाडौं फिर्छु भनेर आएको थिएँ, यिनीहरुका कारण रोकिएँ । हेरिराख्नुस्, मैले यसरी बोलेँ । भोलि यिनीहरु मिडियामा आउन पनि हिम्मत गर्दैनन् ।

नदी दोहनमा पनि धेरै दलाल, विचौलियाहरुको संलग्नता छ भन्नुभयो । कस्तो संलग्नता हो ?

कालीगण्डीमा सबै जोडिएका छन् । पत्रकारहरु पनि दलाल, तस्करसँग खाएर हिँडेको ठाउँमा मैले एजेन्डा ल्याएँ । सर्वोच्चमा तीन वर्षदेखि कालीगण्डकीको मुद्दा छ । कत्रो सभ्यता बोकेको कालीलाई ब्राण्डिङ गरेर लाने हो नि ! यसलाई ठेक्का लगाएर दोहन गर्ने होइन नि त ।

अहिले मलाई पक्राउ पूर्जी जारी हुनु भनेको कालीगण्डकीको सभ्यता बचाउने लडाइँ सुरु भयो भनेर बुझ्दा हुन्छ । सबै मिलिभगतमा दोहन गर्थे, खान्छे । यिनीहरुले अक्ष्यम्य पाप गर्दै आएको ठाउँमा मैले आवाज उठाएपछि उनीहरुको मुखमै बुजो लाग्यो ।

मलाई यसरी उजुरी हालिनुमा दलाल, तस्कर, नेता र पत्रकार भनाउँदा सबैको चलखेल छ । सुरुमा त मलाई उजुरी हाल्यो भन्ने सुन्दा हाँसो पनि उठ्यो । आफू कुन चिन्ता र चासो लिएर हिँड्ने ! प्रकिृतिको परिपूर्णतामा रम्ने खालको मान्छे ।

अहिले जारी पक्राउ पूर्जीलाई कसरी हेरिरहनुभएको छ ?

लोकतान्त्रिक व्यवस्थामा सामाजिक संजालमा प्रतिक्रिया लेखेकै भरमा यस्तो प्रपन्च रच्नुपर्ने के थियो ? यिनीहरुले शान्त तलाउमा ढुंगा हाने । यिनीहरु सबै चोर बाटो हिँडेर पत्रकारिता गरिरहेका थिए । चोर बाटोबाट हिँडेर पनि पत्रकारिता हुन्छ ? कस्तो मानक खडा गर्यौं हामीले ? यसको भोलि समाज, आमनागरिकले मूल्यंकन गर्ला । आवाज उठाउँदै पनि जाला । र मविरुद्ध यस्तो प्रोपोगाण्डा रचिएपछि मैले लड्नुको विकल्प छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *