भीम दत्त राजमार्गको पहिरो प्रभावित क्षेत्र पुगे मुख्यमन्त्री शाह


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरूले आज पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री शाहसहित भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले कैलालीको गोदावरी नगरपालिका- ४ स्थित बुढितोलाको भावर टोलमा गएको पहिरो निरीक्षण गरेका हुन् ।
उनीहरूसँग सो क्षेत्रका सांसदहरू पनि पुगेका थिए । सोमबार राति पहिरो खसेपछि भीमदत्त राजमार्ग अवरुद्ध छ । अहिले पनि सडक खुल्न सकेको छैन । करिब १०० मिटर माथिबाट आएको पहिरोले सडक अवरुद्ध पारेको छ । त्यस्तै करिब ३०० मिटर सडक भासिएको छ ।
उक्त क्षेत्र पुगेका मुख्यमन्त्री शाहले चाँडै सडक सुचारु गर्ने काम गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।