धनुषामा बाढीले बगाउँदा एकजनाको मृत्यु, दुई बेपत्ता


जनकपुरधाम । अविरल वर्षासँगै नदीहरुमा आएको बाढीले धनुषामा तीन जनालाई बगाएको छ । जसमध्ये एकजनाको मृत्यु भएको हो ।
खोलाले बगाउँदा मिथिला नगरपालिका २ अनन्तपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको हो । खोला तर्ने क्रममा लडेपछि बाढीले उनलाई बगाएको थियो । स्थानीयले उद्धार गरी अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै धनुषा-सिरहा जोड्ने कमला नदीमा आएको बाढीले पनि दुई जनालाई बगाएको छ ।
गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनका श्रीमती ३० वर्षीया माया परियारलाई कमला नदीको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्थानीयका अनुसार उनीहरु नदीमै दाउरा टिपेर घर फर्किदै गर्दा बाढी आएपछि बगाएको छ । उनीहरुको उद्धारका लागि प्रहरीले खोजी गरिरहेको छ ।