रूपन्देहीमा युवासंघको डेंगीविरूद्ध साताव्यापी सचेतना अभियान सुरू


रूपन्देही । राष्ट्रिय युवा सघ नेपाल रुपन्देही जिल्ला कमिटीले एक महिने वृक्षरोपण अभियान तथा एक हप्ते डेंगु रोग बिरुद्धको सचेतना अभियानको शुभारम्भ गरेको छ ।
बुटवलको वडा नं ११ र १७ मा पर्ने सृजनानगरको विभूति पार्कबाट करिब दुई सय पचास बिरुवाहरु बृक्षरोपण गरी अभियानको शुभारम्भ गरिएको हो । त्यस्तै सोही ठाउँबाट एक हप्ते डेंगी बिरुद्धको सचेतना अभियान पनि सुरु गरिएको छ ।
दुवै अभियानको एक कार्यक्रमका बीच कार्यक्रम नेकपा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य दधिराम शर्माले शुभारम्भ गरे।
सो अवसरमा उनले अहिले नेकपा एमाले ०८४ मा हुने आसन्न निर्वाचन लक्षित कार्यक्रमहरु देशका ७५३ वटै पालिकामा सुरु गरेको बताए । सोही अनुसार टोल, पालिका, जिल्ला र प्रदेशमा विभिन्न रचनात्मक सामाजिक कार्यसंगै कार्यकर्ता निर्देशित कार्यक्रमहरु भइरहेको उनले बताए ।
उनले ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा बहुमत ल्याउने गरी एमालेले विभिन्न कार्यक्रम बनाएको बताए । साथै उनले राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले सामाजिक सचेतनाका कार्यक्रमहरु गर्दै समाज रुपान्तरणमा लागेको भन्दै अझै रचनात्मक काम गर्न आग्रह गरे ।
युवा संघ रुपन्देहीका अध्यक्ष बिकास बस्नेतले राष्ट्रिय युवा संघको केन्द्रीय सर्कुलर अनुसार बृक्षरोपण र एक हप्ते डेंगु अभियान जिल्लाका १६ वटै पालिकामा गरिने बताए ।