गोरखापत्रमा कार्यरत १२ जना पत्रकारको तत्काल म्याद थप्न कर्मचारी संघको माग


काठमाडौं । गोरखापत्रमा कार्यरत १२ जना पत्रकारको तत्काल म्याद थप गर्न कर्मचारी संघले माग गरेको छ ।
गोरखापत्र संस्थान कर्मचारी संघले मंगलबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘संस्थानका संवेदनशील सूचनाहरु जिम्मेवार ठाउँबाट प्रेसलाई वितरण गर्ने, आधारहीन विषयमा हस्तलिखित उजुरी गरेर कार्य वातावरण धमिल्याउने दुस्कार्य भइरहेको पाइएको छ ।’
यस्तै गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनमाथि पनि संघले प्रश्न गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषदबाट सल्लाहकार पदमा नियुक्त भएका उपेश महर्जनले मर्यादा र आचरण पालन नगरी छुट्टै स्वार्थ समूह बनाई अशोभनीय र अमर्यादित कार्य गरेको सुनिएकोले यो संघ उक्त दुस्प्रयासप्रति घोर भत्सर्ना गर्दै तत्काल वन्द गर्न सचेत गराउँछ ।’
महर्जनले करिब डेढ दशक संस्थानमा अति सामान्य जिम्मेवारीमा रहेका व्यक्ति संस्थानकै गरिमामय पदमा मन्त्रिपरिषदबाट नियुक्ती पाउनु गौरव र सम्मानको विषय हुनुपर्ने र सोहीअनुसार मर्यादित प्रयत्नहरु गरिनु पर्नेमा राष्ट्रिय राजनीतिको वाध्यात्मक परिस्थितिले अनिवार्य बनेको गठवन्धनमा उक्त सरकारले गरेको निर्णयमाथी नै गम्भिर प्रश्न खडा हुने काम तत्काल र पूर्णरूपमा बन्द संघले अनुरोध गरेको छ ।
महर्जनलाई यही जेठ १२ गते बसेको मन्त्रिपरिषद्को बैठक उक्त पदमा नियुक्त गरेको थियो ।
यस संस्थानमा विगत लामो समयदेखि करार सेवामा कार्यरत करिव २०० जना कर्मचारीका वारेमा संस्थानकै कर्मचारीको उजुरीलाई आधार मानेर राष्ट्रिय शतर्कता केन्द्रले छानविन गर्ने नाममा १२ जनाको करार अन्त्य गर्न र संस्थानका ५ जना पदाधिकारी/कर्मचारीलाई कारवाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको विषयमा यस संघले गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको छ ।
जटिल विषयमा गहन रुपमा छानविन पश्चात निर्देशन गरिनुपर्नेमा अत्यन्त हतारमा निर्देशन दिएका बिषय प्रेसहरुमा छताछुल्ल हुनुले एकातर्फ सम्मानित संस्थाको भूमिकामा प्रश्न गर्नुपर्ने अवस्था निम्त्याएको छ भने अर्कोतर्फ संस्थानका इमान्दार कर्मचारीको मर्यादामा आँच पुगेको संघको निष्कर्ष छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संस्थानमा केही समयदेखि अनुशासनहीनता बढ्दै गएको छ । संस्थानका संवेदनशिल सूचनाहरु जिम्मेवार ठाउँबाट प्रेसलाई वितरण गर्ने, आधारहीन विषयमा हस्तलिखित उजुरी गरेर कार्य वातावरण धमिल्याउने दुस्कार्य भइरहेको पाइएको छ । यसमा व्यवस्थापनले छानविन र कडा कारवाही गर्न सख्त जरुरी छ । संस्थानका सम्पूर्ण पदाधिकारी/पत्रकार/कर्मचारी सबैलाई संयमताका साथ अधिकार सँगसँगै कर्तव्य निर्वाह गर्नसमेत हार्दिक अपिल गर्दछौं ।’