करारका कर्मचारी निकालिएपछि बुढीगङ्गा गाउँपालिकामा आन्दोलन


विराटनगर । करार कर्मचारीलाई बुढीगंगा गाउँपालिकाले निकालेपछि निष्कासित कर्मचारीले आन्दोलन सुरु गरेका छन् ।
उनीहरूले पुर्नवहालीको माग राख्दै मङ्गलवार देखी आन्दोलन सुरु गरेका हुन् । २६ जना करार कर्मचारीको बुढी गङ्गा गाउँपालिकाले करार अवधि नथपेपछि उनीहरूले गेटमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलनका कारण कार्यालयको काम कारबाही प्रभावित बनेको छ । तालाबन्दीका कारण जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राही कार्यालयभित्र प्रवेश गर्न पाएका छैनन् ।
बिहान ९ः३० बजे तालाबन्दी गरेर कर्मचारीहरू गाउँपालिकाको कार्यालयअगाडि धर्नामा बसेका हुन् । काम कारबाही प्रभावित भएपछि सबै पक्षसँग समन्वय गरेर ताला खुलाउन पहल भइरहेको गाउँपालिकाले जनाएको छ ।
सब इन्जिनियर विवेकबाबु थानदारले आफूहरूलाई गाउँपालिकाले विभेदपूर्ण तरिकाले कामबाट निकालेको बताए । ‘करारमा कार्यरतमध्ये २६ जना कर्मचारीलाई बिना कारण र विभेदपूर्ण तरिकाले कामबाट निकालिएको छ,’ उनले भने, ‘६ वर्षदेखि सेवा गरिरहेका कर्मचारीलाई कामबाट निकालेर गाउँपालिकाले अन्याय गर्यो ।’
गाउँपालिका उपाध्यक्ष अमृताकुमार गच्छदारले कर्मचारी बढी हुँदा बेरुजु धेरै आएका कारण कार्यपालिकाको बैठकबाटै निर्णय गरेर करारका २६ जनालाई बिदा गरिएको बताइन् ।
‘कर्मचारी धेरै भएकाले ६ वर्षदेखि काम गरिरहेकालाई समेत हटाउनुपर्ने अवस्था आयो । कार्यपालिकाबाटै निर्णय गरेर करारका २६ जनाको म्याद थप नगर्ने निर्णय गरिएको हो,’ उनले भनिन्, ‘दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत थिए । गाउँपालिकाको स्रोतले धान्न सक्ने अवस्था पनि भएन ।’
गच्छदारका अनुसार गाउँपालिकाभरि ६४ जना कर्मचारी करारमा कार्यरत छन् । करारका २६ जना कर्मचारीको म्याद नपप्ने भनेर नियमसंगत तरिकाले कार्यपालिकाबाट गरिएको निर्णय कार्यान्वयनतर्फ लगिने उनको भनाइ छ ।