योगाज राजनले छोरीसँग गाए ‘राजा ल्याउँ देश बचाउँ’ (भिडिओ)


काठमाडौं । राजसंस्था पक्षधरहरुले सडक आन्दोलन गर्दा सबैभन्दा बढी गुञ्जने नारा हो– ‘राजा आउ देश बचाउ’ । यही नारालाई केन्द्रमा राखेर एउटा गीतसमेत रेकर्ड भएको छ, जुन आगामी दिनमा राजावादीहरुबीच लोकप्रिय बन्न सक्छ ।
राजसंस्थाप्रति झुकाव राख्ने सर्लाहीका संघर्षशील गायक योगाज राजनले यो गीत निर्माण गरेर सार्वजनिक गरेका हुन् । हिजो युट्यूवमा सार्वजनिक भएको गीतमा राजनलाई उनकै छोरी तिलस्मी खड्काले स्वर दिएकी छन् ।
‘राजा ल्याउँ देश बचाउँ महाअभियान’ शीर्षकको गीतको भिडियोमा राजनले निकै मिहिनेत गरेका छन् । राजसंस्था पुनस्र्थापनका निम्ति भएका आन्दोलन, राजा महेन्द्रदेखि पारससम्मका भिडियो फुटेज, तथा राजसंस्था पक्षधर विभिन्न नेताहरुका भाषणका क्लीपहरुसमेत राखेर भिडियोलाई रोचक र दर्शनीय बनाइएको छ ।
गायक खड्का देशमा राष्ट्रिय एकताको प्रतिकका रुपमा राजसंस्थाको आवश्यकता जनतालाई थप महसुस गराउन यो गीत ल्याएको बताउँछन् ।
उनी भन्छन्, ‘देश गणतन्त्रपछि समृद्ध हुनुका साटो झनै अधोगतितर्फ गइरहेको छ । नेताहरु आफ्नै स्वार्थपूर्तिमा केन्द्रीत छन् । त्यसैले यो व्यवस्था खारेज गरी फेरि राजसंस्थामा फर्कने जनचाहनालाई थप बल पु¥याउन गीत सिर्जना गरेको हुँ,’ उनले भने ।
गीतले संघीयता र धर्मनिरपेक्षता खारेज हुनुपर्ने वकालत पनि गरेको छ । गीतमा राजनीतिक विषयवस्तु मात्र छैन । बैंक तथा वित्तीय संस्थाहरुले जनतालाई चर्को ब्याजदर थोपरेर मर्नु न बाँच्नुको अवस्थामा पुर्याइरहेको अवस्थालाई पनि गीतले चित्रण गरेको छ ।
राजनले पहिलोपटक राजनीतिक भाषाको गीत गाएका हुन् । यसअघि उनले २०५७ सालमा उनले ‘गरौं चिनाजानी’ नामको गीति एल्बम ल्याएका थिए । त्यसको ६ वर्षपछि २०६३ सालमा उनले ‘स्कुल क्याम्पस’ नामको दोस्रो एल्बम सार्वजनिक गरे । यी दुवै एल्बमका गीतहरु विसुद्द मनोरञ्जनात्मक थिए ।
राजनले आफ्नी छोरी तिलस्मीलाई पनि सांगीतिक क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिइरहेका छन् । तिलस्मीले २०७६ सालमा पौडी खेलाडी गौरीका सिंहमा समर्पित गीत ‘हिप हिप हुर्रे गौरीका’ मा स्वर दिएकी थिइन् । तेह्रौं साग खेलकुदभन्दा ठीक अगाडि राजनले गौरीकालाई प्रोत्साहित गर्ने हेतु सो गीत लेखेर छोरीलाई स्वर दिन लगाएका थिए । गौरीकाले उक्त सागमा चारवटा स्वर्णपदकसहित नौवटा पदक जितेकी थिइन् । पदक जितेपश्चात बधाइ दिन आएकी तिलस्मीलाई गौरीकाले धन्यवाद दिँदै भनेकी थिइन्, ‘तिम्रो गीतले काम गर्यो नि ।’
अहिले देशको दुरावस्थाका कारण राजनीतिक विषयवस्तुको गीत बनाएको राजन बताउँछन् । यो गीतमा शब्द र संगीत उनको आप्mनै छ । म्युजिक डिजाइन डीजेएलएक्स पौडेलले गरेका छन् भने भिडिओ निर्देशन र सम्पादन अरुण लम्सालको रहेको छ । तिलस्मी खड्काको युट्यूव च्यानलबाट यो गीत सार्वजनिक भएको छ ।