अमेरिकास्थित गैरआवासीय नेपालीको कम्पनीले किन्यो रुपन्देहीको टाइगर प्यालेस – Nepal Press

अमेरिकास्थित गैरआवासीय नेपालीको कम्पनीले किन्यो रुपन्देहीको टाइगर प्यालेस

५ अर्बभन्दा बढी रकममा किनबेच, अदालतमा मुद्दा विचाराधीन भएकाले विदेशमै कारोबार

रुपन्देही । विदेशी कम्पनीले चलाएको रुपन्देहीको कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेस अमेरिकास्थित गैरआवासीय नेपालीको कम्पनीले किनेको छ । विदेशी कम्पनीलाई जग्गा खरिद, संरचना निर्माण तथा सञ्चालनका विषयमा विवादमा पारेर सस्तो मूल्यमा किन्न खोजेका नेपाली व्यापारी समूह तथा राजनीतिक दलनिकट व्यक्तिलाई छक्काउँदै यो होटल बिक्री भएको हो ।

अहिले देशभित्र खरिद पक्रिया पूरा गर्दा कानूनी झमेला हुने भएपछि यसको किनबेच कार्य विदेशमा गरिएको हो । गैरआवासीय नेपालीको कम्पनी नेपोलियन टाइगर इन्भेष्टमेन्ट (एलएलसी) ले रिसोर्ट खरिद गरेको हो ।

कम्पनीले पाँच अर्ब रूपैयाँमा रिसोर्ट खरिद गरेको बताइएको भएपनि सञ्चालकहरूले अन्य खर्च पनि यसमा थपिने भएकाले बढ्नसक्ने जनाएका छन् । एलएलसी कम्पनीको अध्यक्षमा चितवनका बुद्धिसागर सुवेदी छन् । सुवेदी गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष हुन् । र, अब पुनः एनआरएनमा उठ्न खोजिरहेका छन् । केही समयअघि यो होटल खरिद गरिएको र अहिले पास भएर रिसोर्टको व्यवस्थापन सम्हालेको उनले जानकारी दिए ।

‘६-७ महिनादेखि रिसोर्ट खरिदका लागि छलफलमा थियौं, केही समयअघि कागज गरिएको हो, अहिले पास भएर यसको व्यवस्थापन सम्हालेका हौं’, उनले भने । नेपाल अमेरिका पत्रकार समाज नेजाका अध्यक्ष सुरज भण्डारीले सुवेदी नेतृत्वको नेपाली टोलीले टाइगर प्यालेस खरिद गरी पास गरेको र व्यवस्थापन पनि सम्हालेको जानकारी दिए

‘धेरै नेपालीलाई अमेरिका बस्नेले नेपालमा लगानी गर्दैनन् भन्ने चिन्ता छ, यो निर्णयले रुपन्देही तथा आसपासमा लगानी गर्नेहरुलाई उत्साह थपेको हुनुपर्दछ, यस्ता सकारात्मक कामलाई सबैले साथ दिनुपर्दछ, नेपालमा लगानीको वातावरण बनाउन आवश्यक छ ताकि बाहिर कमाएकाहरुले निर्धक्क भएर लगानी गर्ने अवस्था बनोस्’, पत्रकार भण्डारीले भने ।

विवादपछि अदालतले सार्वजनिक कुलो मिचेर निर्माण गरेका संरचना हटाउन फैसला गरे पनि यसको कुनै कार्यान्वयन नगर्दै टाइगर प्यालेस रिसोर्ट बिक्री भएको हो । जिल्लामा पहिलो वैदेशिक लगानीमा निर्माण भएको स्तरीय रिसोर्टका केही संरचना राजकुलो मिचेर निर्माण गरिएको भन्दै अदालतमा मुद्दा परेपछि लामो समयदेखि यसका लगानीकर्ता दबाबमा परेका थिए । उक्त विवादका कारण रिसोर्टको क्यासिनो लामो समयदेखि बन्द छ । लामो समयदेखि रिसोर्टले आवास र खाना सुविधा मात्र प्रदान गरिरहेको छ ।

होटलका लागि जग्गा बेचेका केही व्यक्ति र दलका नेताहरू लगानीकर्तालाई तर्साउन विभिन्न विवाद झिकेको र अदालतसम्म पुगेको सूचना संचालकले पाएपछि उनीहरु जसरी पनि यहाँबाट छिटो मुक्त हुन चाहेका थिए । तिलोत्तमाका एक उद्योगी विदेशी लगानीकर्तालाई आकर्षण गराउनुको साटो तर्साएर कम मूल्यमा खरिद गर्ने मनसायले एक यस्तो गरिएको र यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालमा लगानी गर्न सुरक्षित छैन भन्ने सन्देश दिएको बताउँछन् ।

नेपालमा मुद्दा भएकोले होटल किनबेच भने देशबाहिर (अफसोर कारोबार) भएको जनाइएको छ । होटलमा प्राइम कमर्सियल बैंकको नेतृत्वमा तीन वटा बैंकले लगानी गरेका छन् । उनीहरूको करिब ३ अर्ब लगानी रहेको छ । बैंक स्रोतका अनुसार सिल्भर हेरिटेजले गैरआवासीय नेपाली अमेरिकाको कम्पनीले होटल खरिद गरेको जानकारी गराइसकेको छ ।

बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको आफ्नो स्वामित्वको होटल एलएलसीले किनेको हो । यो कम्पनीमा एनआरएनहरुको स्वामित्व छ । कम्पनीमा क्यानडा, अमेरिका र युरोपियन देशहरुमा सक्रिय एनआरएनहरुको लगानी छ । अध्यक्ष सुवेदीले सबै दायित्व बेहोर्ने गरी होटल किनेको जानकारी दिए । सहमतिअनुसार क्यासिनोको रोयल्टी क्रेता कम्पनीले नै तिर्नेछ । क्यासिनोको रोयल्टी बक्यौता झण्डै १४ करोड रुपैयाँ छ ।

अदालतमा मुद्दा परेपछि यसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेजले रिसोर्ट बिक्री गरेर उम्कने प्रयासमा थियो । यसअघि रुपन्देहीकै भुसाल समूहले रिसोर्ट खरिदका लागि पक्रिया अन्तिम चरणमा पुर्याएकाबेला अदालतले रोकेपछि र विवादमा तानिएपछि उसले छाडेको थियो । त्यसअघि पनि स्वदेश र बिदेशमा रहेका धनाढ्यले रिसोर्ट खरिदमा चासो देखाएका थिए । पछिल्लो पटक लामो रस्साकस्सीपछि गैरआवासीय नेपालीको समूहले यो रिसोर्ट खरिद गरेको छ ।

यसअघि रुपन्देही जिल्ला अदालते रिसोर्टले सार्वजनिक जमिन मिचेर संरचना निर्माण गरेको ठहर गरेको थियो । तत्कालीन जिल्ला अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको ठकर गर्दै मिचेको सार्वजनिक जग्गा खाली गर्न भनेको थियो ।

हङकङको बहुराष्ट्रिय कम्पनी टाइगर वान प्रालि र सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले टाइगर रिसोर्ट संचालन गरेका हुन् । लुम्बिनी नलकुप उपभोक्ता संघ रुपन्देहीको तर्फबाट संघका अध्यक्ष थानेश्वर घिमिरेले सार्वजनिक कुलो मिचेर संरचना बनाएको भन्दै रिसोर्ट संचालकविरुद्ध अदालतमा मुद्दा दिएका थिए । फैसलाअघि सञ्चालकले रिसोर्ट बिक्री गर्न खोजेपछि परेको अपहेलना मुद्दामा अदालतले रिसोर्ट संचालक दुई कम्पनीलाई तीन–तीन हजार रुपैयाँका दरले जरिवानासमेत तिराएको थियो ।

अघिल्लो वर्ष अन्तिम फैसला गर्दै अदालतले वादीको दावी अनुसार तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन फैसला सुनाएको थियो । विदेशी लगानीको उक्त रिसोर्टमा करिब ५ अर्ब लगानी भएको र त्यो मध्ये अधिकांश बैंकको रहेको छ । २०७४ सालदेखि रिसोर्ट सञ्चालनमा आएको थियो । बादीको दाबीअनुसार सार्वजनिक जमिन खाली गर्न अदालतले दिए पनि खाली नगरी बिक्री गरिएको हो ।

१५ बिगाह क्षेत्रफलमा फैलिएको रिसोर्टले सरकारी र सार्वजनिक जग्गा मिचेर विभिन्न संरचना बनाएको भएपनि तत्कालीन अवस्थामा मिचिएको जग्गा साटफेर संरचना नबनेको ठाउँमा दिनेगरी सहमति भएको थियो । विदेशी कम्पनी भएकाले यहाँका जग्गा व्यवस्थापन गर्नेहरुको सल्लाहमा संरचना बनेको थियो । मिचिएको केही सार्वजनिक जमिनमा बनेका संरचना क्यासिनो, सभाहल, स्वीमिङ पुल, रेष्टुरेण्टलगायतका परेकाले यसको वैकल्पिक व्यवस्था गरेर विवाद सल्टाउनुपर्ने स्थानीयको माग छ ।

रुपन्देहीको तिलोत्तमाका उद्यमी शशी पौडेलले विदेशमा बस्ने नेपालीहरुले यो रिसोर्ट किनेको विषय निकै खुसीको कुरा भएको बताए ।

‘कोटिहवा क्षेत्रमा यो रिसोर्ट पूर्णरुपमा संचालनमा आउँदा सो क्षेत्र धेरै चम्किएको थियो, बीचमा विवादमा आउँदा होटलमा नि धेरै चार्मिङ भएन, हामीले लगानीकर्तालाई उत्साह थप्ने हो, गलत काम गरे खबरदारी गर्ने हो तर अनावश्यक स्वार्थमा हतोत्साहित बनाउनुहुँदैन, कानुनी प्रकृया पूरा गराउने सरकार मातहतका निकायको काम हो, अब यसलाई पूर्णरूपमा संचालन गराउन सबैले सहयोग गर्नुपर्दछ’,पौडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *