बालुवाटार बैठक : दुई घण्टासम्म जुटेन सहमति, देउवा निस्किए


काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्न प्रमुख दलका शीर्ष नेताहरूका बैठक दुई घण्टादेखि बालुवाटारमा जारी छ । बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताको शीर्ष नेता सहभागी छन् ।
बैठक अहिले पनि जारी छ । तर, केहीबेरअघि बैठकबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक बाहिरिएका छन् । दुई घण्टादेखि छलफल बैठकमा अहिलेसम्म कुनै सहमति नभएको लेखकले बताए ।
लेखकले भने, ‘सभापतिज्यू पनि काम परेर निस्कनुभएको हो । अहिलले म निस्कदासम्म कुनै सहमति भएको छैन ।’
अहिले प्रधानमन्त्री, सभामुखसहित एमालेका अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्वाङ र सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे छलफलमा छन् ।
एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ । हिजो सिंहदरबार र बानेश्वरमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज पुनः बालुवाटारमा जुटेका हुन् ।
प्रतिनिधिसभा बैठक ३ बजेका लागि बोलाइएको छ ।