२५औं विश्व स्काउट ज्याम्बोरीका पूर्वनिर्धारित कार्यक्रम स्थगित, नेपालबाट गएका स्काउटकाे टाेली सुरक्षित – Nepal Press

२५औं विश्व स्काउट ज्याम्बोरीका पूर्वनिर्धारित कार्यक्रम स्थगित, नेपालबाट गएका स्काउटकाे टाेली सुरक्षित

काठमाडौं । दक्षिण कोरियाको झोल्लाबुक्दो प्रान्तमा आयोजित २५औं विश्व स्काउट ज्याम्बोरीका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित भएको छ ।

जापानी समुन्द्री तटबाट तीब्र गतिमा कोरियातर्फ बढ्दै गरेको ‘खानउन टाइफुन’ले पार्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै दक्षिण कोरिया सरकारले ज्याम्बोरीका पूर्व निधारित कार्यक्रमहरु स्थगित गरेको हो ।

कार्यक्रमहरु स्थगित गरेसँगै ज्याम्बोरीका सहभागीहरुलाई स्थानान्तरण गर्ने तयारी गरेको छ । यसै अनुरुप नेपालका सबै सहभागी स्काउटकर्मीहरुलाई स्थानीय समयानुसार आज बिहान ८ बजेसम्म सोउल स्थानन्तरण गरिएको नेपाल स्काउटले बताएको छ ।

नेपाल स्काउटले २५औं विश्व स्काउट ज्याम्बोरीमा सहभागी हुन नेपाल स्काउटबाट गएका १६८ जना स्काउटकर्मी सुरक्षित रहेको बताएको हो । २५औं विश्व स्काउट ज्याम्बोरीमा अगस्ट १ देखि १२ तारिख सम्म जारी कार्यतालिका रहेको थियो । तर अत्याधिक गर्मी बढेपछि कार्यक्रम प्रभावित भएको हो ।

विश्व स्काउट ज्याम्बोरीमा सुरुवातदेखि नै अत्याधिक गर्मीका कारण सहभागीहरुमा विभिन्न समस्याहरु आइरहेका थिए । विश्व स्काउट ज्याम्बोरीका बिभिन्न क्रियाकलापहरु संचालन हुँदै आएको थियो ।

नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै २५औं विश्व स्काउट ज्याम्बोरीमा सहभागी सबैको सुरक्षामा अत्यन्त गम्भीर रहेको बताएको छ ।

‘यस विषयमा हामी नेपाल सरकार र कोरीया स्थीत नेपाली राजदुतावाससम्ग निरन्तर सम्पर्क र समन्वयमा रहेका छौं । साथै हाल सबै नेपाली सहभागीहरु स्वस्थ र सुरक्षीत रहेको तथा आयोजकको योजना अनुरुप ज्याम्बोरीकका क्रियाकलापहरुलाई स्थानन्तरण पछि निरन्तरता दिन तयार रहेको र पूर्व निर्धारीत तालिका अनुसारनै स्वदेश फर्किने छन्’, विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *