संघीयताबारे नकारात्मक टिप्पणी नगरौं: मन्त्री मोदी


काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकारले गरेका केही कमीकमजोरीलाई लिएर संघियताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै सङ्घीय मामिला मन्त्री मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने शिलशिलामा भएका कमजोरीले संघियता कमजोर नहुने बताएका हुन् ।
व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वभाविक रहेको मन्त्री मोदीले बताए । केहि व्यक्ति र समूह संगठित रुपमा साना साना कमजोरीलाई देखाएर व्यवस्था कमजोर बनाउन लागि परेको पनि बताए । पछिल्लो समयमा केहि राजनैतिक पूर्वाग्रह राख्ने व्यक्तिहरुले प्रधानमन्त्रीलाई पनि मुछ्ने प्रयास गरेको बताए ।
स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भैसकेकोले विगतको अनुभव र कमजोरीहरु अहिलेको लागि मार्गदर्शक हुनेहँुदा नकारात्मक टिप्पणी नगर्न आग्रह गरे ।
यस्तै कार्यक्रममा संघिय मामिला मन्त्री मोदीले धेरै ठुलो दबाबको सामना गरेर काम गर्नु परेको बताए । काठमाडौँ उपत्यका भित्र वर्षौं देखि बसिरहेका (मन्त्रीको भाषामा अखडा जमाएर बसेका) कर्मचारीहरुलाई उपत्यका बाहिर पठाएको जिकिर गरे ।
काठमाडौँ उपत्यका बाहिर कहिल्यै नगएकाहरु अहिले बाहिर जानु परेपछि फर्किन निरन्तर दबाब दिइरहेको बताए । बाहिर गएका कर्मचारीले मन्त्रीलाई दबाब दिन नकारात्मक समाचार पनि लेखाएको उनको आरोप छ ।
नेपालमा कार्यान्वयनको चरणमा रहेको संघिय शासन व्यवस्था बिस्तारै स्थिर र स्थायित्व हुदैँ बताए ।