दानव नदीले बगाउँदै लुम्बिनीको दक्षिण क्षेत्रस्थित निपनिया पुरातात्त्विक क्षेत्र
स्थानीयको आग्रहपछि लुम्बिनी विकास कोषले दियो संरक्षण गर्ने प्रतिबद्धता

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिणमा रहेको पुरातात्त्विक क्षेत्र निपनिया क्षेत्र हरेक वर्ष आउने दानव नदीको कटानले बगाउन थालेपछि स्थानीयले संरक्षणका लागि लुम्बिनी विकास कोषलाई आग्रह गरेका छन् ।
स्थानीयको आग्रहपछि कोषले लुम्बिनीबाट दक्षिणमा रहेको निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालीन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन गर्ने भएको छ ।
कोषका सदस्यसचिव सानुराजा शाक्यको नेतृत्वमा निपनियास्थित दानव नदी क्षेत्रको स्थलगत निरीक्षणपछि नदी किनारमा रहेको कुषाणकालीन माटोको इनारलाई उद्धार उत्खनन गरिने भएको हो ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचीन इनार, कुवा, माटाका भाँडाहरू बगाउन थालेको भन्दै स्थानीयहरूले खबर गरेका थिए ।
लुम्बिनी विकास कोषको कार्यक्षेत्रमा नपरे पनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्त्विक भग्नावशेषहरू भेटिएकाले स्थलगत रूपमा निरीक्षण गरेको सदस्यसचिव सानुराजा शाक्यले बताए ।
उनले दानव नदीको कटानले इनार (रिंग)हरु बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको किनारमा अवस्थित इनारलाई उद्धार उत्खनन गरी लुम्बिनी संग्रहालयमा लैजाने तयारीमा जुटेको बताए ।
‘नदीको कटानले प्राचीन समयका महत्त्वपूर्ण इनार, माटाका भाँडाहरू बगाएर भारत लगेको देखिन्छ, यसको संरक्षणका लागि कोष एक्लैले केही गर्न सक्दैन’ उनले भने –‘यसका लागि स्थानीय, प्रदेश र पुरातत्त्व विभाग सबैले मिलेर काम गर्नुपर्छ ।’
सदस्यसचिव शाक्यले लुम्बिनी गामे भनेर अशोक स्तम्भमा उल्लेख भए अनुसारकै प्राचीन बस्ती रहेको अनुमान गर्न सकिने बताए ।
स्थलगत निरीक्षणपछि कोषका पुरातत्त्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले निपनियामा वर्षेनि पुरातात्त्विक इनार र अन्य महत्त्वपूर्ण वस्तुहरू बग्दै गएकाले यसको संरक्षण गर्नुपर्ने बताए ।
उनले कोषले अहिले नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्धार उत्खनन गरी संग्रहालयमा सुरक्षित गर्ने तयारी गरेको बताए ।
‘प्रत्येक वर्ष यहाँ आउँदा माटोको इनार नदीको किनारमा देखिन्छ, तर बाढीले बगाइरहेको छ, यहाँ रहेको इनारलाई यो पटक उद्धार उत्खनन गर्छौ’ उप्रेतीले भने ।
पुरातात्त्विक हिसाबले यो क्षेत्र निकै महत्त्वपूर्ण रहेको बताउँदै भारतका पुरातत्वविद् प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन गर्दा बुद्धिष्ट साइटको उत्तरापथमा पर्ने व्यापारिक क्षेत्रका रूपमा व्याख्या गरेको उनले बताए । उनले निपनियालाई बुद्ध सर्किटको क्षेत्रसँग जोडेर पर्यटक आकर्षित गर्न सकिने उनले बताए ।
भारतका प्रख्यात पुरातत्वविद् एसबी देवले बन्जरही र पैसियामा उत्खनन गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू,आरी लगायतका सामग्री भेट्टाएका थिए । निपनियामा अहिले यी सामग्रीहरु दानव नदीको बाढीसँगै बग्दै आएका छन् ।