उषाको एकलौटीविरुद्ध महिला संघमा समानान्तर समिति बन्दै, शेखर कोइरालाले दिए ग्रिन सिग्नल


काठमाडौं । नेपाली कांग्रेस आबद्ध नेपाल महिला संघमा विवाद बढेपछि समानान्तर गतिविधि शुरु भएका छन् । संघकी अध्यक्ष उषा राउतले एकलौटी ढंगले विधान विपरीत केही जिल्ला सभापति हटाएपछि शेखर समूह आक्रोशित भएको छ।
विधान विपरीत एकपछि अर्को जिल्ला सभापति हटाउन थालेपछि उक्त समूहका नेतृहरूलाई नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाकोमा कुरा गर्न पठाएका थिए । तीन दिनअघि नै रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने तयारीमा रहेका नेतृहरू शेखरको आग्रहबमोजिम देउवालाई भेट्न गएका थिए ।
देउवाले मिलाएर जाने आश्वासन दिए पनि राउतको कार्यशैली नफेरिएपछि आफू निकट महिला संघका नेतृहरूलाई शेखर कोइरालाले, ‘पार्टीभित्र अराजकता बढ्यो, यसरी विधान विपरीत जाने छुट कसैलाई छैन, उस्तै परे केन्द्र देखि जिल्ला तहसम्म महिला संघको समानान्तर समिति चलाउने सम्मको तयारी गर्नु’ भन्ने निर्देशन दिएका छन्।
यसैबीच शेखर पक्षीय महिला नेतृहरूले आज पत्रकार सम्मेलन गरेर समानान्तर अभियानको घोषणा गर्दैछन् ।
केहीबेरमा अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँले जानकारी दिइन् ।