जनताको काममा जुट्न एमाले नेता गिरीको निर्देशन – Nepal Press

जनताको काममा जुट्न एमाले नेता गिरीको निर्देशन

रुपन्देही । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीले नेता कार्यकर्ताहरूलाई जनताको काममा जुट्न निर्देशन दिएका छन् ।

एमाले बर्दिया जिल्ला कमिटीले आयोजना गरेको पालिका स्तरीय प्रशिक्षण कार्यक्रममा बर्दिया जिल्ला इन्चार्जसमेत रहेका गिरीले पार्टी स्थापनाको लक्ष्य उद्देश्यअनुसार जनताको काममा जुट्न निर्देशन दिए ।

कम्युनिष्ट पार्टी स्थापनाको इतिहास सुनाउँदै गिरीले विशेष गरी वर्गीय रूपमा पछाडि परेको वर्गको सुखमा मात्र होइन, दुःखमा सँगसँगै काँधमा काँध मिलाएर अघि बढ्न जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरे ।

तत्कालीन अवस्थामा विशेष गरी निरंकुश राजतन्त्रको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्र स्थापनाको सन्दर्भमा नेकपा एमालेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै यो मुलुकको समृद्धि नेकपा एमालेले मात्र हासिल गर्न सक्ने बताए ।

पार्टी स्थापनाको इतिहास सुनाउँदै इन्चार्ज गिरीले आफूहरूले कुनै पदको लोभमा भूमिगत भएर संघर्ष गरेको जेल बसेको होइन, केवल यो मुलुकलाई सार्वभौमसत्ता बनाउन, जनतालाई अधिकार सम्पन्न बनाउन, दासताको उन्मुलन गर्न, जातीय तथा वर्गीय रूपमा हेपिएका, दबिएकाहरूको पक्षमा लागेर सामन्ती सोच भएकाहरूलाई परास्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कम्युनिष्ट भएको बताए ।

अहिले पार्टीभित्र अवसर मात्र खोज्ने पार्टीको काम नगर्ने परिपाटीको विकास भएको भन्दै पद पाउनका लागि मात्र राजनीति नगर्न अनुरोध गरे ।

नेकपा एमाले बर्दिया जिल्ला कमिटीले यही साउन १५ गतेदेखि २२ गतेसम्म बर्दिया जिल्लाका आठ वटै स्थानीय तहमा नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

आइतबार बाँसगढी नगरपालिकास्तरमा प्रशिक्षण कार्यक्रम सकिएको छ भने सोमबार बढैयाताल गाउँपालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

पालिका स्तरीय प्रशिक्षण कार्यक्रममा पोलिटब्युरो सदस्य लीला गिरीसँगै केन्द्रीय सदस्यहरू लक्ष्मण ज्ञवाली, शोभा ज्ञवाली, भीम केसी, खडकबहादुर खड्का तथा बर्दिया जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष शालिकराम अधिकारी र सचिव पदम ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर