गण्डकीका मुख्यमन्त्री पाण्डेको दाबी : पहिलो सय दिन बजेट, जनजीविका र प्रदेशको अधिकार केन्द्रित भयौँ – Nepal Press

गण्डकीका मुख्यमन्त्री पाण्डेको दाबी : पहिलो सय दिन बजेट, जनजीविका र प्रदेशको अधिकार केन्द्रित भयौँ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो १ सय दिन प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजीविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको दाबी गरेका छन् ।

शनिवार सरकार गठन भएको १ सय दिन पूरा भएको अवसरमा मुख्यमन्त्री पाण्डेले पत्रकार सम्मेलन गर्दै १ दिनमा सरकारले गरेको काम सार्वजनिक गरेका हुन् ।

उनले पहिलो १ सय दिनमा जनताको जनजीविकाको सवालमा केन्द्रित रहेर सरकारले स्वास्थ्य, खानेपानी, सार्वजनिक सेवा (यातायात), कृषि लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

प्रदेशको हक अधिकार र भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा गत असार १५ गते अन्तर प्रदेश मुख्यमन्त्री बैठक सम्पन्न गरी संघीयतालाई सबलीकरण गर्न १७ बुँदै साझा धारणा जारी गर्नु अर्को महत्त्वपूर्ण उपलब्धि भएको मुख्यमन्त्री पाण्डेले सुनाए ।

गण्डकीमा डायलायसिस सेवा नागरिकको स्वास्थ्यमा टेवा भन्ने नारा सहित झन्झटमुक्त र पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा झार्न संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना तथा सञ्चालन गरिएको मुख्यमन्त्रीले पाण्डेले उल्लेख गरेका छन् ।

मन्त्रिपरिषद्को पहिलो बैठकबाट भएको लिफ्टिङ खानेपानी एवं सिँचाइ योजनाको विद्युत् महसुलमा अनुदान दिने निर्णयअनुसार गण्डकी प्रदेशका २४० वटा लिफ्ट योजनालाई १ करोड ८८ लाख २६ हजार ८ सय ८० रुपैयाँ अनुदान वितरण गरिएको छ । चालु वर्षदेखि लिफ्ट सिँचाइ र लिफ्ट खानेपानीलाई अनुदान दिन ५ करोड विनियोजन गरिएको छ ।

७७ जना युवा उद्यमी तथा व्यवसायीलाई युवा उद्यम तथा स्वरोजगार कार्यक्रम अन्तरगत रु १ लाख ५० हजारसम्मको अनुदान प्रदान गरिएको र ८ जना अपांगता भएका युवा उद्यमीलाई ६० हजारदेखि १ लाख १० हजारसम्म प्रोत्साहन रकम र परम्परागत पेशामा लागेका ८ जना युवालाई एक लाख १० हजारसम्म उपलब्ध गराइएको मुख्यमन्त्री पाण्डेको उपलब्धि पत्रमा उल्लेख गरिएको छ ।

पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा वैशाख १४ गते नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर