कांग्रेसले अन्याय गरेका संस्थापक नेता सुर्य प्रसादलाई देउवाले न्याय गरे – नवराज सुवेदी


काठमाडौं । राष्ट्रिय पञ्चायतका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नवराज सुवेदीले नेपाली कांग्रेसले अन्याय र अपमान गरेका संस्थापक नेता सुर्यप्रसाद उपाध्यायप्रति शेरबहादुर देउवाले न्याय गरेको बताएका छन् ।
सुर्यप्रसाद स्मृति कार्यक्रममा बोल्दै सुवेदीले विपी कोइरालामा पनि सुर्य प्रसादबारे भ्रम परेको भन्दै जेलबाट विपीलगायत कांग्रेस नेताहरु छुटाउन सुर्य प्रसादले तत्कालीन राजा महेन्द्रलाई कन्भिन्स गरेको बताए ।
कांग्रेसका चार संस्थापकमध्ये एक सुर्य प्रसादलाई अहिले आएर देउवा सभापति भएको बेला चौथो संस्थापकको मान्यता दिएकोमा खुसी व्यक्त गर्दै सुवेदीले देउवाबाहेक अरु सभापति भए यो सम्भव नरहेको बताए ।
सुवेदीले सुर्य प्रसाद आफ्नो जेठान पर्ने नाताको समेत भएकाले धेरैपटक राजासँग छलफल गरिएको भन्दै प्रधानमन्त्री बनाउने राजाको प्रस्तावमा पनि उनले विपीको रिहाइ र निर्वासनका कांग्रेसीहरुलाई आममाफीको शर्त राखेको स्मरण गरे ।
रामेछापको चिसापानीमा जन्मिएका सुर्यप्रसाद नेपाली कांग्रेसका संस्थापक थिए । तर राजा महेन्द्रले पन्चायत लागु गरेपछि उनी कांग्रेसको सक्रिय राजनीतिमा छुटे पनि सहयोगी थिए ।
पछिल्लोपटक कांग्रेस केन्द्रीय कार्य समितिले सुर्य प्रसादलाई विपी, सुर्ण शमसेर, गणेशमानकै लहरमा मान्यता दिने निर्णय गरेको थियो ।