प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित रह्यो : ओली – Nepal Press

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित रह्यो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्ता स्वार्थ मात्रै प्रधान भएको दाबी गरे ।

पार्टीको परराष्ट्र मामिला विभागले शनिवार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठीमा मात्रै उहाँले नेपाली आवश्यकता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरूमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरूको देखाएको जिकिर गरे ।

अध्यक्ष ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले राष्ट्रिय हितलाई सर्वोपरि राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरू सदैव तयार रहेको र रहिरहने अडान समेत राखे । सरकारले मनपरी र बेठिक ढंगले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरू भएकाले उनीहरूसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिने बताए । उनले आफ्ना जायज मागहरू पनि छिमेकीसँग राख्न नसक्ने हो भने त्यस्तो खालको सरकार र सत्ताको कुनै अर्थ नहुने पनि दोहोर्‍याए ।

ओलीको सम्बोधनको सम्पादित अंश

अहिलेका प्रधानमन्त्री अस्ति भर्खर भारत जानुभयो । कुन–कुन सम्झौता गर्नुहुन्छ, केही पनि बताउनु भएन यहाँ । जे गर्नुपर्ने, त्यो केही पनि काम गर्नुभएन । दुई देशका बीचमा त्यत्रो सहमतिका साथ प्रबुद्ध व्यक्ति समूह बनाइयो ।

१९५० को सन्धिलगायतका विभिन्न सन्धि, सम्झौता र सम्बन्धहरूका विविध पक्षहरूको अध्ययन गरेर नेपाल र भारतबीचको सम्बन्धलाई आजको समयानुकूल न्याय र समानतामा आधारित उचित सम्बन्धी, सुमधुर र सुदृढ सम्बन्ध कसरी बनाउने ? कसरी त्यसरुपमा विकास गर्ने, जो पारस्परिक लाभ र समानताको आधारमा होस् । यस हिसाबले इपीजी गठन गरिएको थियो । त्यस सम्बन्धमा कुरा गर्नुपर्दथ्यो । कुरा गर्नु भनिएको थियो । प्रधानमन्त्रीजीले त्यो कुरा उठाउनु भएन ।

हाम्रो भूगोलको बारेमा, हाम्रो सीमाको बारेमा जो भारतले विवादित बनाउन खोजेको छ । त्यस सम्बन्धमा टुंगो लगाउनु पर्दथ्यो । त्यो लागेन । यस्ता थुप्रै कुराहरू, आवश्यकता र भावना, नेपाली आवश्यकता, नेपाली हित नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरूको सन्दर्भमा यति कमजोरी देखाइयो, सत्ता स्वार्थ प्रधान भयो, राष्ट्रिय स्वार्थ प्रधान भएन । कतिपय मानिसहरूले लेखेको हुन्छ, कतिपयले बोलेको हेर्छु । अचम्म लाग्छ । राष्ट्रिय हित त सर्वोपरि हुनुपर्‍यो नि कमसेकम । यसमा त कसैले पनि तलमाथि गर्न भएन । यसमा राष्ट्रिय सहमति बनाउनु पर्ने ।

अब सरकारले मनपरी र बेठिक गर्दै जाने, सरकारले बेठिक गर्दै जाने, हामीले समर्थन गर्दै गएर राष्ट्रिय सहमति हुने त होइन । राष्ट्रिय हितमा अडिएर राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रिय हितको पक्षमा सरकारले कुरा ल्याओस् । सरकार पक्षले कुरा ल्याओस् । अरू पार्टीले कुरा ल्याउन ।

हामी राष्ट्रिय हितको पक्षमा जोसुकैले ल्याएको कुरालाई पनि समर्थन गर्छौँ । र, एकताबद्ध भएर अगाडि तयार छौँ । राष्ट्रिय हित छोडेर सहमति हुने कुरामा नेकपा एमाले तयार हुँदैन । र, नेपाली जनता, देशभक्त जनता पनि तयार हुन सक्दैनन् । यसको अर्थ हामी कसैको विरोध हौँ, कसैको अहित चिताउँछौँ भन्ने होइन ।

हाम्रो दुईतिर दुई वटा ऐतिहासिक छिमेकीहरू छन् । ठूला छिमेकीहरू छन् । र, सामान्यतया: असल छिमेकीहरू छन् । मित्र राष्ट्रहरू छन् । छिमेकमा भएपछि समस्याहरू पैदा हुन सक्छन् । सिमानाको समस्या गैर छिमेकीहरूसँग कहाँबाट हुन्छ ? अर्जेन्टिना, चिली वा जापानसँग हाम्रो कहाँको सीमासँग सम्बन्धित समस्या हुनु ? सीमा समस्या हाम्रो हुन्छ भने दुई छिमेकी देशसँग मात्रै हुनसक्छ–भारत र चीन । किनभने यिनीहरूसँग मात्रै सीमा जोडिएको छ । यिनीहरूसँग मात्रै हुँदा खेरी यो समस्या हुनसक्छ । नहुँदा नहुने कुरा हो ।

सीमानामा हुँदा खेरी सीमा सम्बन्धी समस्या वा छिमेकी भएको हुनाले हुने समस्या छिमेकीहरूसँग हुनसक्छ । तसर्थ, हामीले हाम्रा छिमेकीहरूलाई खुलस्त कुरा गरेर, हामीले हाम्रा छिमेकी मित्र भन्दछौँ, छिमेकी मित्र हुन् । छिमेकी मित्रसँग । एक त छिमेकी, जो बदल्न, सार्न सकिँदैन । अर्को, मित्र । अनि, मित्रसँग हामी बोल्न सक्दैनौँ । आफ्ना मर्का राख्न सक्दैनौँ ।

आफ्ना जायज हितहरू बोल्न सक्दैनौ भने त्यस्तो सत्ताको के अर्थ भयो, सरकारको के अर्थ भयो ? कुरा गर्न सकिँदैन भने डेलिगेशनमा जानुको के अर्थ भयो ? किन जाने डेलिगेशन, यदि कुरै गर्न सकिँदैन भने । त्यस कारण हामीले हाम्रा छिमेकीहरूसँग मित्रतापूर्ण ढंगले, स्पष्ट ढंगले हाम्रा न्यायोचित हितहरूको सन्दर्भमा स्पष्ट दृष्टिकोण पेस गर्नुपर्दछ । र, कुराकानी गरेर संवादको माध्यमाबाट समस्या समाधान गर्नुपर्छ ।

हाम्रो देशले कुनै तनाव खोज्नै सक्दैन । झेल्नै सक्दैन । हामीले कहिल्यै भारतलाई एक पटक पनि नाकाबन्दी गरेका छौँ र ? एक पटक पनि गरेका छैनौ । चीनलाई हामीले नाकाबन्दी गरेका छौँ ? तर भारतले त हामीलाई पटक पटक गरेको छ नि त ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर