कानून मन्त्रालय निमित्त सचिवको भरमा, को हुन् सम्भावित सचिव ?


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले साउन ५ गते अनिवार्य अवकाश पाएका छन् । ज्ञवालीको अनिवार्य अवकाश भएसँगै मन्त्रालयका वरिष्ठ सहसचिव फणिन्द्र गौतमले निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
मन्त्रालयमा सचिव पद रिक्त भएपछि न्याय सेवा आयोगले सचिवमा बढुवाका लागि सरकारलाई सिफारिस गर्ने कानूनी व्यवस्था रहेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश आयोगको अध्यक्ष रहने व्यवस्था छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहित सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता बढुवा सिफारिस समितिको सदस्य रहने व्यवस्था छ ।
अहिले कानूनमन्त्री धनराज गुरुङ विदेश भ्रमणमा छन् । अबको दुई दिनभित्रमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पनि अनिवार्य अवकाश पाउँदैछन् । प्रशासन सेवातर्फ रिक्त एक सचिव बढुवाका लागि तीन जना वरिष्ठतम सहसचिव मन्त्रिपरिषद्मा सिफारिस हुने गरेको भए पनि कानून तथा न्याय सेवातर्फ भने विगतदेखि नै आयोगले एक जनामात्रै वरिष्ठतम् सहसचिवको नाम सिफारिस गर्दै आएको छ ।
वरिष्ठता नमिच्ने परम्पराअनुसार नै अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव गौतम कानून सेवातर्फको सचिवमा बढुवा हुनेछन् ।