मन्त्री छनोटपछि नाउपामा विवाद: बैठक बहिस्कार गरेका लक्ष्मणले भने- पार्टीको जिम्मेवारीबाट बिदा लिन्छु


कैलाली । नागरिक उन्मुक्ति पार्टी आज सरकारमा सहभागी हुँदैछ। नाउपाका तर्फबाट रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त भइसकेका छन् ।
नाउपा सरकारमा सहभागी भएकै दिन पार्टीमा विवाद सुरु भएको छ । पार्टीबाट सरकारमा सहभागी हुँदा योगदानको मूल्याङ्कन नभएको भन्दै नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीले विरोध जनाएका छन् ।
आज बिहान टीकापुरमा बसेको बैठकले यसअघि नै टुङ्ग्याइसकेको मन्त्रीहरूको नामलाई सदर गरेको थियो । उक्त बैठकमा संरक्षक रेशम चौधरी, वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता दामोदर पण्डित, प्रतिनिधिसभा सदस्य गंगा चौधरीसमेत सहभागी थिए । सांसद लक्ष्मणकिशोर चौधरीले विधि र पद्धतिअनुसार मन्त्रीको नाम छनोट नभएको भन्दै विरोध बैठकमै असहमति जनाए । लगत्तै उनी बाहिरिए ।
‘मलाई हस्ताक्षर गर्न भन्नुभयो । मेरो सहमति छैन भनेर म हस्ताक्षर नगरी बाहिर निस्किएँ’, उनले भने, ‘मन्त्री बन्नेहरूप्रति मेरो विरोध होइन ।तर, पार्टीमा विधि र पद्धति नदेखिएपछि मैले विरोध गरेको हो ।’
बैठकमा आफूलाई मुख्यमन्त्रीको आश्वासन पनि दिएको तर, मुख्यमन्त्री हुने बेलामा आफूलाई संसदीय दलको नेतासमेत नबनाएको भन्दै उनले बैठकमै पार्टी नेताहरुकाे आलोचना गरेका थिए ।
चौधरी अहिले नाउपाका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख हुन् । केन्द्रीय उपाध्यक्ष हुँदाहुँदै आफूलाई पार्टीले अन्याय गरेको उनले बताए । उनले अब आफू पार्टीको जिम्मेवारीमा नबस्नेसमेत जानकारी दिए ।
‘केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख हुँदा हुँदै पार्टी अन्याय गर्यो । चाँडै पत्रकार सम्मेलन गरेर अब त्यो जिम्मेवारीबाट म मुक्त हुन्छु’ उनले भने ।
वैशाख २८ भन्दा पहिले रामेश्वर चौधरी संसदीय दलका नेता थिए भने लक्ष्मणकिशोर प्रमुख सचेतक थिए । उनीहरू दुवैलाई मन्त्री नियुक्त गर्ने सहमतिपछि दलको नेतामा घनश्याम चौधरी र प्रमुख सचेतकमा खुसीराम चौधरी नियुक्त भए ।
तत्कालीन संसदीय दलका नेता रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् । मन्त्री बनाउने भन्दै प्रमुख सचेतकको जिम्मेवारीबाट फिर्ता बोलाइएका लक्ष्मण त्यो सहमति पनि कार्यान्वयन नगर्नु दुःखद भएको बताउँछन् ।