राजदूत नियुक्तिमा समावेशिताको प्रश्न उठ्दा परराष्ट्रमन्त्रीले पेश गरे मन्त्रालयका कर्मचारीको विवरण


काठमाडौं । सरकारले विदेशी कूटनीतिक नियोगमा नेपाली राजदूत नियुक्त गर्दा समावेशी सिद्धान्त आधारमा नगरेको भन्दै प्रश्न उठिरहेका बेला परराष्ट्रमन्त्री एनपी साउँदले मन्त्रालयमा कार्यरत कर्मचारीको विवरण पेश गरेका छन् ।
बुधवार संसदीय सुनुवाइ समितिको बैठकमा भर्खरै मात्र सरकारले नियुक्त गरेको राजदूतमाथि परेको उजुरीमाथिको छलफलमा सांसदले राखेको प्रश्नमा जवाफ दिने क्रममा उनले मन्त्रालयमा कर्मचारीको विवरण सुनाएर समावेशिताको प्रश्न टारेका हुन् ।
राजदूत नियुक्तिमा समावेशिताको प्रश्न उठ्दा उनले लोक सेवा आयोगमार्फत परराष्ट्र सेवामा प्रवेश गरेका कर्मचारीको विवरण सूची सार्वजनिक गरे ।
उनले जवाफ दिँदै भने, ‘नेपालको संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अंगीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशीताका नमूनाको रूपमा रहेको छ । लोक सेवा आयोगबाट पदपूर्ति गर्दा देखी नै समावेशी सिद्धान्तका आधारमा महिला, जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुने गरी दरखास्त आह्वान र पदपूर्ति गर्ने गरिएको छ । जसअनुसार १७ सहसचिवको दरबन्दीमा २ मधेसी समुदाय, २ महिला र २ जनजातिबाट कार्यरत हुनुहुन्छ भने मन्त्रालयको ५० उपसचिवको दरबन्दीमा महिला १७, जनजाति ८, मधेसी २, दलित २, पिछडिएको क्षेत्र १, अपाङ्गता भएका व्यक्ति १ जना हुनुहुन्छ । त्यसैगरी, शाखा अधिकृतमा हाल कार्यरत ८९ मध्ये ४२ जना समावेशीबाट परिपूर्ति भई कार्यरत रहनु भएको छ । जसमा महिला १६, जनजाति १६, मधेसी ७, दलित ३ जना रहेका छन् ।’
मन्त्री साउँदका अनुसार अहिले २६ देशमा कार्यरत राजदूतमध्ये महिला तीन, आदिवासी जनजाति चार जना, मधेसी एक, अपाङ्गता भएका व्यक्ति एक जना कार्यरत रहेको जानकारी गराए ।
उनले नेपाल सरकारको प्रतिबद्धता अनुसार नेपालको संविधानको मर्म र भावना अनुरूप समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै सबै प्रकारको नियुक्तिमा समावेशी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए । यस सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि यथोचित रूपमा सम्बोधन गर्दै लैजान सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।