जुम्लाको गुठिचौरमा मदिरा सेवन गर्न लाइसेन्स अनिवार्य – Nepal Press

जुम्लाको गुठिचौरमा मदिरा सेवन गर्न लाइसेन्स अनिवार्य

सुर्खेत । जुम्लाको गुठिचौर गाउँपालिकामा मदिरा सेवन गर्न अनिवार्य कार्ड चाहिने भएको छ । गाउँपालिकाको १५औं गाउँसभाबाट मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०८० सर्वसम्मत पारित गरेसँगै मदिरा सेवन गर्न लाइसेन्स चाहिने भएको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले मदिरा नियन्त्रण तथा व्यवस्थापन २०८० र गिटी ढुङ्गा बालुवा उत्पादन बिक्री वितरण कार्यविधि १५औं गाउँसभाबाट पास गरिएको जानकारी दिए ।

उनका अनुसार गाउँवासीलाई सुरक्षित बनाउन मदिरा सेवन गर्न लाइसेन्स चाहिने व्यवस्था गरिएको हो । मदिरा सेवनबाट गाउँपालिकामा चोरी, अप्रिय घटना, आपराधिक घटना घट्ने गरेको अध्यक्ष बुढाले बताए ।

‘गाउँपालिकाका नागरिकहरुलाई सुरक्षित बनाउनुपर्छ भन्ने मुख्य उद्देश्यअनुसार लागुऔषध नियन्त्रणका साथै मदिरा सेवन रोकथाम गर्न यस्तो कार्यविधि बनाएका छौं’, उनले भने ।

गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकामा अन्यत्रबाट आएका अथिति पाहुनाले मदिरा सेवन गर्न चाहेको खण्डमा अथिति मदिरा सेवन कार्ड, मदिरा बिक्री वितरण, ओसारपसार गर्न नयाँ इजाजतपत्र, पहिले नै अन्तःशुल्क कार्यालयबाट अनुमति लिएका बिक्रीकर्ताहरुले पुनः अभिलेखीकरण गर्न अनिवार्य कार्ड चाहिने जनाएको छ ।

यस्तै स्थानीय मदिरा उत्पादन, बिक्री वितरण, ओसारपसार गर्ने व्यक्तिहरुले पनि साउनभित्र इजाजतपत्र लिएका बिक्रीकर्ताहरुले मदिरा पसल विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिक स्थल, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा ५ सय मिटरभन्दा टाढाको दुरीमा राख्न र सोको अभिलेखीकरण प्रमाणपत्र नवीकरण गर्न, मदिरा पसल अन्य खाद्यजन्य सामग्रीहरुबाट अलग्गै राख्न गाउँपालिकाले सूचित गरेको छ ।

मदिरा सेवनकर्ताले दैनिक १८० मिलि र बियर परिकारसम्म १ बोतलमात्र सेवन गर्न र सोवापत वार्षिक ५०० रुपैयाँ नवीकरण र कार्डवापत र अथिति कार्डवापत प्रत्येक दिन १०० रुपैयाँका दरले शुल्क तिर्न लगाइने भएको छ ।

मदिरा होलसेल बिक्रीकर्ता र ओसारपसारकर्ताले खुद्रा बिक्रीकर्तालाई बिहान ७ देखि बेलुका ५ बजेसम्म र बिक्रीकर्ताले सेवनकर्तालाई बेलुकी ६ देखि ९ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न गाउँपालिकाले सूचित गरेको छ ।

यदि नियम र कानून विपरीत मदिराको उत्पादन बिक्री वितरण, ओसारपसार गरेको खण्डमा कानूनबमोजिम मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिअनुसार मदिरा सेवन गरी समुदायमा होहल्ला, शान्ति भंग हुने क्रियाकलाप वा झैझगडा गर्ने व्यक्तिलाई पहिलो पटक एक हजार रुपैयाँ जरिवाना गराइनेछ । सोही व्यक्तिले अर्को पटक सोही कसुर गरेमा पटकैपिच्छे २ हजारको दरले जरिवाना बढ्दै जाने जनाइएको छ ।

त्यसैगरी मदिरा बिक्री वितरणकर्ता, ओसारपसारकर्ता र उत्पादनकर्ताले यस कार्यविधिको दफा ११ मा उल्लेखित सर्त उल्लंघन गरेमा पहिलो पटक भएमा १० हजार जरिवाना र सोही व्यक्तिले अर्को पटक सोही कसूर दोहोराएमा २० हजार दरले वृद्धि गरिनेछ ।

उक्त कार्यमा सहयोगी भई कार्य गर्नेलाई समेत योजनाकार वा विक्री वितरण, उत्पादन र ओसारपसार गर्नेलाई हुने सजायको आधा सजाय गर्न सकिनेछ । सार्वजनिक पदधारण गरेको व्यक्ति वा सरकारी कर्मचारीहरुले मदिरा सेवन गरी सामाजिक रुपमा होहल्ला, गाली, बेइज्जती जस्ता क्रियाकलाप गरेमा अन्य व्यक्तिलाई गरिने सजायको दोव्बर सजायको साथै विभागीय कारवाहीको लागि सिफारिस गरी पठाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

मदिरा सेवनकर्ताले मदिरा सेवन गरी नियम उल्लंघन गरेमा कारबाही गर्नुपर्दा मदिरा बिक्री गर्ने विक्रेताको नाम उल्लेख गर्न नचाहेमा सोही सेवनकर्ताले नै मदिरा सेवन गराउनेलाई गरिने जरिवानासमेत निजले नै तिर्नुपर्नेछ भने १० हजार जरिवाना सेवनकर्ता स्वयंले तिर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *