कास्कीमा अनलाइनमार्फत ४ करोड बढी ठगीको उजुरी


पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा एक वर्षको अवधिमा अनलाइनमार्फत ४ करोड भन्दा बढीको ठगी भएको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०७९/८० मा अनलाइनमार्फत ४ करोड ३५ लाख बराबरको ठगीको उजुरी परेको जानकारी दिएको छ ।
एक वर्षमा अनलाइनमार्फत भएका ठगीका ४ सय २ उजुरी परेका छन् । विभिन्न चिठ्ठा परेको भन्दै ठगी गर्ने विरुद्ध ४ सय २ वटा उजुरी परेको हो । ‘सामाजिक सञ्जा मार्फत विभिन्न व्यक्तिहरुलाई उपहार परेको भन्दै म्यासेज पठाउने र उपहार पाउन केही रकम पठाउनुपर्ने सर्त गिरोहले ठगी गर्ने गरेको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रवणकुमार विकले भने ।
कास्की प्रहरीले गत आर्थिक वर्ष बर्दीको दुरुपयोग गर्दै टिकटक बनाउने ८ जनालाई कारवाहीमा परेका छन् । सूचना अधिकारी विकका अनुसार ७ जनालाई कारवाही गरिएको र १ जना कारवाही प्रक्रियामा रहेका छन् । यसबाहेक ४१ जना प्रहरी विभिन्न कारणले कारवाहीमा परेका छन् ।
सामाजिक सञ्जालमार्फत आइडी फेक बनाएर गाली बेइज्जत, अश्लिल वा अर्यादित कुराकानी गरेको भन्दै ४ सय १९ जनाले उजुरी दिएका प्रहरीले जनाएको छ । कास्की प्रहरीमा गत आर्थिक वर्ष २ सय २६ जना महिला, १ सय ६६ जना पुरुष, २३ जना बालिका र ४ जना बालकले आइडी फेक बनाएर सामाजिक सञ्जाल मार्फत अमर्यादित कुराकानी गरेको भन्दै उजुरी दिइएको सूचना अधिकारी विकले सुनाए ।
गत आर्थिक वर्ष विभिन्न स्थानबाट २ हजार २ सय ८६ वटा मोवाइल हराएको भन्दै उजुरी परेको जानकारी दिएको र प्रहरीले उजुरीको आधारमा २ सय ८६ वटा मोवाईल फेला पारेर सम्बन्धित व्यक्तिलाई कास्की प्रहरीले फिर्ता गरेको छ ।