विद्युत विकास विभागमा तेस्रो पटक महानिर्देशक बन्ने दाउमा नवीनराज – Nepal Press

विद्युत विकास विभागमा तेस्रो पटक महानिर्देशक बन्ने दाउमा नवीनराज

काठमाडौं । विद्युत विकास विभागमा महानिर्देशक बन्न लबिङ शुरु भएको छ । दुई पटक महानिर्देशक बनिसकेका सहसचिव नवीनराज सिंह पुन: दोहोरिने सम्भावना बढेको छ ।

सिंहलाई पहिलोपटक वर्षमान पुन ऊर्जामन्त्री हुँदा नियुक्ति गरेका थिए । पछि जनार्दन शर्माको पालामा उनी महानिर्देशक बने । २०७३ र २०७६ मा सिंह यसअघि महानिर्देशक नियुक्त भएका हुन् । कांग्रेसनिकटका सिंह गठबन्धन घटक कांग्रेसको शीर्ष नेताको दबाबमा वर्तमान ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतबाट तेस्रो पटक महानिर्देशक बन्ने दाउमा लागेको स्रोतले बतायो । उनी कोशी प्रदेशबाट ऊर्जा मन्त्रालय सरुवा भएर आएका छन् ।

मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रालयबाट लगभग उहाँलाई नै पठाउने तयारी छ । तर, उहाँले २ पटक महानिर्देशक हुँदा केही उल्लेखनीय काम गरेको जस्तो लाग्दैन । ’

ऊर्जामन्त्रीले चाहेको बेला विद्युत विभागको महानिर्देशक फेर्न सक्छन् । हालका महानिर्देशक चिरञ्जीवी चटौतको ठाउँमा सिंहलाई ल्याउन लागिएको हो ।

सिंह दुई पटक महानिर्देशक हुँदा उल्लेखनीय केही गर्न नसकेको भन्दै मन्त्रालयका कर्मचारी नै असन्तुष्ट रहेको बताइएको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सिंहलाई विद्युत विकास विभागको महानिर्देशक बनाउन लागेको विषय आफूलाई केही जानकारी नभएको नेपाल प्रेससँग बताए ।

निर्णय क्षमता र सबैलाई रिझाउन सक्ने खुबीका कारण सिंह नै महानिर्देशकको बलियो दाबेदार देखिएको मन्त्रीनिकट स्रोतले जनाएको छ । माओवादी वृत्तमा उनी प्रभावशाली देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर