सडकमा डोजर तेर्स्याएर प्रधानमन्त्री निवासअगाडि ठेकेदारहरूको विरोध (भिडिओ)


काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माणमा प्रयोग हुने साधनहरू तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीहरूले डोजर र अन्य निर्माण यन्त्र सडकमा राखेर विरोध जनाएका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।
४ खर्बभन्दा बढी योजनाको सुनिश्चितता गरेको भएपनि स्रोत नभएको योजनाहरूको म्याद थप गर्न लागेको उनको भनाई छ । त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भनेपनि भुक्तानीको व्यवस्थापन गर्न नसके खारेज गर्नुपर्ने सिंहले बताए । सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने उनको चेतावनी छ ।
उनले भने, ‘नेपाल सरकारले बनाएका योजनाहरू ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेको तर स्रोत नभएको त्यस्तो योजनाको लागि सरकारले एक वर्ष म्याद थप गर्दैछ, त्यसको भुक्तानीको व्यवस्थापन कसरी गर्छ ? भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्छ भनेर प्रमुख माग लिएर आएका छौं । मूल्य समायोजन लगायतका ९ बुँदे माग लिएर आन्दोलन गरेका छौं ।’
व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमनअघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,जुन सुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, व्यवहारिक माइल स्टेन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड प्रदर्शन गरेका छन् ।