राप्रपा कार्यालय विवाद : राजभण्डारी भन्छन्- महानगरविरुद्ध अदालत जान्नँ, जग्गा फिर्ता पनि लिन्नँ – Nepal Press

राप्रपा कार्यालय विवाद : राजभण्डारी भन्छन्- महानगरविरुद्ध अदालत जान्नँ, जग्गा फिर्ता पनि लिन्नँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन काठमाडौं महानगरपालिकाले भत्काउन लागेको छ ।

नियमविपरीत हाइटेन्सन लाइनमुनि निर्माण भएको र नक्सा पाससमेत नभएको भन्दै महानगरले कार्यालय भवनमा डोजर चलाउने तयारी गरेको हो ।

पार्टीकै नेता दिलविकास राजभण्डारीले दान दिएको ८ आना जग्गामा राप्रपाले (तत्कालीन राप्रपा नेपाल) २०६९ सालमा यो घर निर्माण गरेको थियो । तर, अहिलेसम्म यो जग्गा राप्रपाको नाममा नामसारी भएको छैन भने घरको नक्सापास पनि हुन नसकेको छैन । मापदण्डविपरीत भएका कारण महानगरले नक्सापास रोकेको हो ।

जग्गाधनी राजभण्डारी भने आफूहरुले वडासँग पूर्वस्वीकृति लिएरै घर बनाएको बताउँछन् ।

उनले भने, ‘त्यसबेला अहिलेजस्तो कडा मापदण्ड पनि थिएन । वडाले बकाइदासँग स्वीकृति दिएको हो । नक्सा पासका लागि आवश्यक दस्तुर पनि उतिबेलै तिरिएको थियो । दस्तुर तिरेपछि निर्माण गर्न मिल्न भन्ने थियो ।’

अहिले राजनीतिक मोलाहिजामा राप्रपाको कार्यालयलाई निशाना बनाइएको उनको दावी छ । तर, महानगरविरुद्ध कानूनी प्रक्रियामा नजाने राजभण्डारीले स्पष्ट पारे ।

‘म किन अदालत जाने ? नगरपालिकाको नियम पालना गर्छौं । आवश्यक परे भोलि कुनै कदम चाल्न सकिएला’, उनले भने ।

राजभण्डारीका अनुसार उनले दान दिँदा यहाँ जग्गाको मूल्य प्रतिआना १७ लाख थियो । त्यस हिसाबले उनले १ करोड ३६ लाख रुपैयाँको जग्गा दान गरेका थिए । अहिले चलनचल्तिको मूल्यमा यति जग्गालाई १० करोड पर्ने उनी बताउँछन् । घर निर्माण गर्न २ करोड ५९ लाख खर्च भएको पनि उनको दावी छ ।

राजभण्डारीले राप्रपालाई जग्गा दान गरे पनि किन नामसारी गरिदिएनन् त ? उनी आफूले चाहेर पनि नामसारी गर्न नसकेको बताउँछन् ।

‘मैले नामसारी गर्न प्रयास गरेको हुँ । तर, यसका लागि १९ लाख रुपैयाँ खर्च लाग्ने भयो । त्यति रकम जुटाउन नसकेर नामसारी नभएको हो’, उनले भने ।

राजभण्डारीले दिएको जग्गामा राप्रपाले पार्टीका नेता तथा कार्यकर्तासँग चन्दा संकलन गरेर दुई तल्ले घर ठड्याएको थियो । हाइटेन्सनमुनि जोखिम नै मोलेर घर निर्माण गरिएको पाइन्छ ।

राप्रपाले महानगरसँग घर खाली गराउन ३५ दिनमा समय मागेको छ । सम्भवतः कार्यालय अन्यत्र सारेपछि महानगरले घर भत्काउने छ । घर भत्काएपछि पनि जग्गा आफूले फिर्ता नलिने राजभण्डारी बताउँछन् ।

‘मैले दान गरिसकेको जग्गा हो । फिर्ता माग्ने प्रश्नै उठ्दैन । यो अब राप्रपाको सम्पत्ति हो । सोधभर्ना पनि पार्टीले नै पाउँछ’, उनले भने ।

त्यसो त राजभण्डारी लामो समयदेखि पार्टी नेतृत्वसँग असन्तुष्ट थिए । आफूले पार्टीमा गतिलो अवसर नपाएको उनको गुनासो रहँदै आएको छ । उनी बीचमा कमल थापाकाे राप्रपा नेपालतिर पनि लहसिएका थिए। तर त्यहाँ धेरै दिन टिक्न सकेनन् । गत वर्षकाे साउनमा उनी फेरि राप्रपा फर्किएका हुन् । तर कुनै गतिलाे जिम्मेवारी पाएका छैनन् ।

उनी अहिले आफ्नो जग्गा खाली होस भन्ने पनि चाहन्थे । तर, अहिले राप्रपाको शीर्ष नेतृत्वसँग उनको कुनै समझदारी भएको बुझिएको छ । नेपाल प्रेससँगको कुराकानीमा उनले पार्टीसँग कुनै असन्तुष्टि नरहेको दाबी गरे ।

उनले भने, ‘मैले अवसर नखोजेको भएर नपाएको हुँ । मलाई अवसर दिँदा पनि मैले नलिएको हो । म यत्तिकै खुशी छु । उपाध्यक्ष र कोषाध्यक्ष भइसकेँ । अहिले पनि अध्यक्षबाहेक अरु जे पनि पाउन सक्छु । तर, मलाई पदको इच्छा र मोह छैन । भोलि त्यस्तो आवश्यकता महसुस भयो भने लिन पनि सक्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर