मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, छैंटौं पटक सरकार विस्तार गर्दै मुख्यमन्त्री यादव


जनकपुरधाम । मधेश प्रदेशका एकएक विनाविभागीय र राज्यमन्त्रीले राजीनामा दिएका छन् । विनाविभागीय मन्त्री बसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका हुन् । उनीहरु दुबै जना जनमत पार्टीबाट मन्त्री बनेका थिए ।
सुरुमा विनाविभागीय मन्त्री नियुक्त कुशवाहाले पछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका थिए । सञ्जय भने सोही मन्त्रालयका राज्यमन्त्री थिए । तर, पछि मन्त्रालय खोसिएर उनीहरुलाई विनाविभागीय बनाइएको थियो
जनमत पार्टीको संसदीय दलका नेतासमेत रहेका शिक्षा तथा सामाजिक कल्याणमन्त्रीले भने राजीनामा दिएका छैनन् । उनी सरकारबाट नहट्ने बुझिएको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री सरोजकुमार यादवले छैंटौं पटक सरकार विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री यादवले विनाविभागीय मन्त्रीबाट हटाउने सूचना पाएपछि उनीहरुले हतारहतार राजीनामा दिएको बुझिएको छ ।
जनमत पार्टीका कुशवाहाबाट खोसिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय नेकपा एकीकृत समाजवादीका गोविन्द न्यौपानेले सम्हालेका छन् ।
मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानून मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय आफैसँग राखेका छन् । यी दुई मन्त्रालयमा आजै मन्त्री नियुक्त हुने स्रोतले जनाएको छ ।
गृह तथा सञ्चार नेपाली कांग्रेसलाई दिने लगभग निश्चित भइसकेको छ । श्रम तथा यातायात मन्त्रालय जसपाले राख्ने कि जनमतलाई दिने विषयमा विवाद कायमै छ ।