त्रियुगा पुल निर्माण सम्पन्न गर्न मन्त्रीसँग जनप्रतिनिधिहरुको माग – Nepal Press

त्रियुगा पुल निर्माण सम्पन्न गर्न मन्त्रीसँग जनप्रतिनिधिहरुको माग

एक वर्षभित्रै पुलको निर्माण सम्पन्न हुन्छ: मन्त्री ज्वाला

काठमाडौं । उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग माग गरेका छन् ।

प्रतिनिधिसभा सदस्य डा. नारायण खड्का, प्रदेशसभा सदस्य राजन किराँतीसहितको टोलीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पुल निर्माणको माग गरेको हो ।

उक्त टोलीले स्थानीय जनप्रतिनिधि, कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, चौदण्डी नगरपालिकाका सबै वडा अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई ज्ञापनपत्र बुझाएका छन् ।

मन्त्री ज्वालाले ज्ञापनपत्र बुझ्‍दै चौदण्डीगढी नगरपालिका- ५ मा सिवाई-बेल्हा जोड्ने पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आश्वासन दिए ।

उनले भने, ‘चौदण्डीगढी- ५ का सबै जनप्रतिनिधि, दल र सबै सरोकारवालाहरूलाई म के आश्वस्त पार्न चाहन्छु भने उक्त भक्तिएको पुलको पुनर्निर्माणको काम एक वर्षभित्रै हुन्छ । यसमा चिन्ता नलिन म आग्रह गर्दछु । काम नयाँ शिराबाट सुरू हुन्छ ।’

साथै उक्त पुलको प्रक्रियामा लैजान केही समय लाग्‍ने र पुलको भेरियसन मन्त्रिपरिषद्बाट पास गराएर कामलाई द्रूत गतिमा अगाडि बढाउने प्रतिबद्धता मन्त्री ज्वालाले जनाए ।

यस्तै सडक विभागका निर्देशक सुशीलबाबु ढकालले उक्त पुलको टेक्निकल समस्‍या सबै पत्ता लगाइएको बताए । उनले भने, ‘हामीले पुलको फिल्ड भिजिट नै गरेका थियौं । त्यसको बिम र स्ल्याबसहितको निरीक्षण गरेर रिपोर्ट आइसकेको छ । अब खाली प्रक्रिया र मन्त्रिपरिषद्बाट भेरियसन पास गराएपछि काम सुरू भइहाल्छ ।’

भौतिक मन्त्रालयका निमित्त सचिव ई. अर्जुनजङ्ग थापाले आगामी वर्षा सिजनमा चौदण्डीगढी- ५ मा रहेको सिवाई-बेल्हा जोड्ने पुल सम्पन्न गर्ने गरी प्रक्रिया सुरू भइसकेको बताए ।

उनले भने, ‘हामीले यसबारेमा सडक विभाग र निर्माण कम्पनीसँग बसेर छलफल गरिसकेका छौं । अब खाली मन्त्रिपरिषद्बाट पुलको भेरियसन पास गराउन बाँकी छ । यसपछि निर्माण कम्पनीले काम थाले हुन्छ ।’

यता, चौदण्डीगढी- ५ का वडा अध्यक्ष तुलसी ढकालले अब पनि पुनर्निर्माणमा ढिलाइ भए माइतीघरमा आन्दोलन गर्ने चेतावनी दिए ।

‘उद्‌घाटन अगाडि नै पुल भाँचिएपछि निराश भएका हामी स्थानीयवासीलाई प्रत्‍येक वर्षामा वारपार गर्न समस्या हुन्छ । त्यतिमात्र होइन, विद्यार्थीहरू स्कुल जान पाउँदैनन् । सिवाई-सुन्दरपुरका स्थानीय यही त्रियुगाको बाढीले बेल्टार बजार जान पाउँदैनन्’, उनले भने, ‘दैनिक जीवन नै असहज हुने तरिकाले भइरहेको यही पुलले हो । अब पनि नबने हामी काठमाडौंमै अनसन बस्ने गरी आएका छौं ।’

चौदण्डीगढी नगरपालिका- ५ सिवाई-बेल्हा जोड्‍ने पुल २०६६ सालमा शिलान्यास भई २०७७/०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो । तर, पुलका दुई वटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ ।

याे पनि पढ्नुस्: भाँचिएको एक वर्षदेखि अलपत्र त्रियुगाको पुल

यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई-मधेशसँग जोड्ने गर्छ । साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सीधा सम्पर्क गराउँछ । तर, पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउजाउ गर्न समस्या भएको छ ।

पुल नबन्दा सर्पदंशलगायतका बिरामीहरुलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएकाले तत्काल पुल निर्माण सम्पन्न गरिदिन प्रतिनिधिमण्डलले मन्त्रीसँग माग गरेको हो ।

बाढीले क्षति पुगेको पुलमा २५-२५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । पुलको लम्बाइ ३०७ मिटर र ५ मिटर चौडाइ रहेको छ । पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *