बुबाआमाका यस्ता गल्तीहरु जसले बाल विकासमा यसरी प्रभाव पार्न सक्छ, कसरी सुधार्ने ? – Nepal Press

बुबाआमाका यस्ता गल्तीहरु जसले बाल विकासमा यसरी प्रभाव पार्न सक्छ, कसरी सुधार्ने ?

काठमाडौं । स्मार्ट प्यारेन्टिङ्ग नेपालले ‘सामान्य अभिभावकीय गल्तीहरु र बाल विकासमा पर्ने प्रभावहरु’ विषयक अभिभावकीय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार भर्चुअल माध्यमद्वारा गरिएको उक्त कार्यक्रममा बाल विकास शिक्षाविद तथा काउन्सेलर दिसु भण्डारी मानन्धर श्रोत व्यक्तिको रहेकी थिइन् ।

उनले अभिभावकहरुले गर्ने सामान्य गल्तीहरुले बालबालिकाहरुलाई के कस्तो प्रभाव पार्दछ र त्यसको समाधानहरु के–के हुन सक्छ भन्ने विषयमा आफ्नो अनुभव र विचार प्रस्तुत गरेकी थिइन् ।

उनले प्रायः अभिभावकहरुले बालबालिकाहरुको अनुशासन र चालचलनलाई लिएर गुनासो गर्ने तर ८ वर्षसम्म उनीहरुको प्रीफोन्टल कोर्टेक्सको पूर्ण विकास भइनसकेको हुनाले उनीहरु विवेकपूर्ण ढंगले व्यवहार गर्न सक्षम हुन नसक्ने तथ्य प्रस्तुत गरेकी थिइन् ।

अभिभावक आफैंले बालबालिकाको अगाडि मोबाइल चलाउने र बच्चालाई नचलाउने भन्ने, आफ्नो व्यवहार अनुकरणीय नबनाउने तर बच्चालाई भने आदर्श व्यवहारका लागि सुझाव दिने, पढ्नमा आफूले समय नदिने अनि पढेन भनेर गुनासो गर्ने जस्ता अभिभावकका बानीहरुले पनि बाल विकासमा सकारात्मक भूमिका नखेल्ने कार्यक्रममा बहस भएको थियो ।

‘अभिभावकको दृष्टीले कहिले काही उनीहरुले झुटो बोलेको जस्तो लागे पनि वास्तविक रुपमा उनीहरुले झुटो बोल्न जानेको हुँदैन’, उनले भनिन्, ‘असन्तुलित खानाहरुले डोपामाइन हर्मोन उत्पादन गर्ने भएकोले बाल बालिकाहरुलाई चन्चल बनाउने, हाइपर एक्टिभ बनाउने साथै हिपोक्याम्पसमा असर गर्ने भएकोले स्मरण शक्तिलाई ह्रास बनाउँछ ।’

बजारीया खानेकुराको लतलाई सुरुमा हप्तामा दुई दिन, पछि एक दिन मात्र खान मिल्ने जस्ता नियमहरु बनाएर नियन्त्रण गर्न सकिने भण्डारीको भनाइ छ ।

त्यस्तै, आजभोलि अभिभावकहरुमा बढी स्क्रीन टाइमले अटिज्म हुन्छ भन्ने भ्रम चिर्न जरुरी रहेको औंल्याइन् ।

‘बढी स्क्रीन टाइमले समग्र रुपले अटिज्म नभएर केवल भर्चुल अटिज्म हुने सम्भावना रहन सक्छ जुन स्क्रीन टाइमको नियन्त्रणले फेरि हटाउन सकिन्छ’, उनले भनिन् ।

२ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई शुन्य समय, २ देखि ५ वर्षसम्मकाहरुलाई अधिकतम १ घण्टा तथा ५ देखि १७ वर्षकाहरुका लागि अधिकतम २ घण्टासम्म स्क्रीन टाइम दिन सकिने रिसर्चहरुले देखाएको भण्डारीले उल्लेख गरिन् ।

घरका कतिपय स्थानहरुलाई फ्री–वाई फाई जोन बनाएर तथा बालबालिकाहरुसँगको सहमतिमा स्क्रीन टाइमको समय र्निर्धारण गरेर नियन्त्रण गर्न सकिने उनले उपाय सुझाइन् । त्यसैगरी, बालबालिकाहरुको आक्रोशलाई शान्त गर्न अभिभावकहरुले चकलेट, आइसक्रीम जस्ता गुलियो पदार्थहरु किनिदिएर शान्त गर्ने कोसिसले झन विपरीत कार्य गर्ने उनको भनाइ छ ।

किनकी गुलिया कुराहरुले आवेगलाई झन विस्तार गर्ने, खुशीले खुशी बढाउंछ भन्ने उक्तिअनुसार अभिभावकहरुले आफुलाई खुशी राखे त्यसले बालबालिकाहरुमा पनि खुशी सञ्चार गराउने उनले जनाइन् । अभिभावकहरुले खुशीका हर्मोनहरुसँग परिचित रहनु फलदायी रहने, डोपामाइन, सेरोटोनिन, अक्सिटोसिन, इन्डोरफिन्स जस्ता हर्मोनहरु खुशी दिलाउने रसायनहरु हुन जुन विभिन्न कृयाकलाप द्वारा निष्काशन हुने उनले बताइन् ।

कार्यक्रममा सहभागी अभिभावकहरुको योग सम्बन्धी विभिन्न जिज्ञासाहरुलाई पनि सम्बोधन गरिएको थियो । बालबालिकाहरुको समष्टिगत विकासको निम्ती अभिभावकहरुमा अभिभावकीय सीप अनि कलाको विकास गरेर यसको महत्वलाई प्रवर्द्धन गर्ने हेतुले स्मार्ट प्यारेन्टिङ्ग नेपालले हरेक महिनाको दोस्रो शनिवार अभिभावकीय ज्ञानवृद्धि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर