मोरङमा जन्मसिद्धका साढे ४ हजार सन्तानले वंशजको नागरिकता पाए, १२ हजार निवेदन पेन्डिङ


विराटनगर । मोरङमा जन्मसिद्धका सन्तानले नागरिकता पाउन अझै डेढ वर्ष भन्दा बढी समय लाग्ने देखिएको छ । जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता दिलाउने प्रक्रिया सुरु भए पनि धेरै निवेदन परेकाले समय लाग्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक ८० वटा सम्म जन्मका आधार पाउने नागरिकता वितरण गर्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा अहिले सम्म १२ हजार जनाले नागरिकताका लागि निवेदन दिएका छन् । निवेदन दिएकाहरूले पुससम्ममा नागरिकता पाइसक्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
२०६३/०६४ सालमा मोरङ जिल्लामा मात्र वंशजका आधारमा मोरङमा ३५ हजारले नागरिकता वितरण गरिएको प्रशासनको तथ्याङ्क छ । मोरङमा करिब ५० देखि ६० हजारको हाराहारीमा अझै नागरिकताका लागि कुरिरहेको अनुमान गरिएको छ ।
यही गतिमा नागरिकता वितरण गर्ने हो भने अझै सबैले नागरिकता पाउन २ वर्ष लाग्ने जिल्ला प्रशासन कार्यालय मोरङको अनुमान छ । जिल्ला प्रशासन कार्यालय मोरङले अहिले सम्म ४ हजार ५ सय जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण गरेको छ ।
जन्मसिद्ध नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुलेपछि ४ हजार ५ सय बढीले नागरिकता प्राप्त गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
असार ११ गतेदेखि फर्म लिएर १२ गतेदेखि नागरिकता वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालयले यो अवधिमा १२ हजार भन्दा बढीले फर्म भरिसकेको जनाएको छ।
जन्मसिद्धका सन्तानलाई दिइने नागरिकता वितरणको लागि जिल्ला प्रशासन कार्यालय मोरङले छुट्टै डेस्क बनाएर काम गरिरहेको छ । टोकनका आधारमा कुन दिन नागरिकता लिन पाइन्छ भन्ने जानकारी दिएर पठाउने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
‘अहिले पनि दैनिक ६ जना कर्मचारी नागरिकता वितरणको लागि खटाइएको छ’, उनले भने, ‘एक महिनाको अवधिमा नागरिकताको लागि फर्म भरेर बुझाउनेको सङ्ख्या करिब १२ हजारको हाराहारीमा छ । यो भनेको पुस महिनासम्मको टोकन गइसकेको छ।’
यो अवधिमा थोरै जनशक्तिबाट धेरै काम गर्न सफल भएको पोखरेलले जानकारी दिए ।
‘नियमित गरिरहेको काममा एक्कासि कामको चाप थपिँदा सेवा प्रवाहमा सकस थियो, उनले भने, ‘स्रोत साधनको अभावका बिचमा पनि हामीले धेरै सेवा दिन सफल भएका छौँ ।’
अहिले पनि अप्ठेरोमा परेर आएका, अपाङ्गता भएका व्यक्तिहरूलाई लाइन नलागी सहज रूपमा नागरिकता उपलब्ध गराउने गरिएको पोखरेलको भनाई छ ।