लुम्बिनीमा पर्यटकलाई लक्षित स्मार्ट शौचालय निर्माण – Nepal Press

लुम्बिनीमा पर्यटकलाई लक्षित स्मार्ट शौचालय निर्माण

रुपन्देही । नेपाल वित्तीय संस्था कर्मचारी संघले बुद्धजन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरी ‘स्मार्ट शौचालय’ निर्माण गरेको छ । लुम्बिनी विकास कोषसँग सहकार्य गरी ४ नम्बर गेटमा पर्यटकलाई लक्षित गरी लैंगिकमैत्री शौचालय निर्माण गरेको हो ।

१ सय ५० वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको शौचालय स्वचालिक र आधुनिक छ । लैंगिक र अपाङमैत्रीसँगै महिलाहरुलाई स्यानिटरीप्याड समेत उपलब्ध हुने व्यवस्था गरिएको छ । यो शौचालयमा दैनिक ५ सय पर्यटकहरुले लाभ लिनसक्ने भएकाले उनीहरुलाई थप सहज हुनेछ ।

कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशन (केएफआइएफ) र युएनआई ग्लोबल युनियन एसियाको पहलमा आधुनिक प्रविधि जडान गरी करिव ४० लाख लागतमा शौचालय तयार पारिएको वित्तीय संस्था कर्मचारी संघले जनाएको छ । संघले शुक्रबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी निर्माण गरिएको शौचालय लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशनका अध्यक्ष प्रोफेसर पार्क जोन सिकले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई सेवा दिने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तरगत शौचालय निर्माण गर्न पाउदा खुशी लागेको बताए । लुम्बिनी आउने पर्यटकहरुलाई शौचालयले थप सहजता दिने उनले बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष एवं कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बैंक तथा वित्तीय संस्थाका मजदुरहरुको लगानीमा निर्माण भएको शौचालयले पर्यटकहरुलाई सहजता थप्ने बताउँदै यसको दीगो सञ्चालन हुने व्यवस्था कोषले गर्ने प्रतिबद्धता जनाए ।

कोभिडपछि सुस्ताएको पर्यटक आवागमनलाई गतिशील बनाउने गरी नीतिगत रुपमा काम गरेको बताउँदै लुम्बिनीको सरसफाईलाई अन्र्तर्राष्ट्रियस्तरको बनाउने अभियानमा लागेको समेत उनले बताए । सदस्य सचिव सानुराजा शाक्यले शौचालय निर्माण भएपनि यसको दीगो सञ्चालनमा चुनौती रहेको बताउँदै त्यस कार्यमा कोष लागिपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *