त्रिविको स्ववियुले हटायो सेवा आयोगको कार्यालयको सामान


काठमाडौं । स्ववियु विश्वविद्यालय क्याम्पस, कीर्तिपुर(स्ववियु)ले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको कार्यालय खाली गराएको छ । बुधबार दिउँसो स्ववियुले छात्रबासको भवन हडपेर बसेको भन्दै आयोगको सामान हटाएर कार्यालय खाली गराएको हो ।
सेवा आयोग एक वर्षदेखि पदाधिकारी विहिन भएको र काम केही नगरेकाले कार्यालय खाली गराएको स्ववियु सभापति श्यामराज ओझाले बताए । आयोगको सामानहरु रजिष्टार कार्यालयमा लगेर राखिएको छ ।
त्रिभुवन विश्वविद्यालयले छात्रवासको लागि निर्माण गरेको भवनमा आयोग बसिरहेकोले आयोग हटाएको उनले बताए । खाली गराएको उक्त भवन विश्वविद्यालयका छात्राहरुको लागि छात्रावास बनाइने उनको भनाइ छ ।
उनले भने,‘जे प्रयोजनका लागि भवन बनाइएको हो सोही प्रयोजनका लागि प्रयोग गर्न पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि जबरजस्ती हटाउनुपरेको हो । सेवा आयोग कामविहिन भएको थियो ।’