पत्रकार कुटेको आरोप लागेका जिल्ला संयोजकलाई रास्वपाले गर्‍यो निलम्बन – Nepal Press

पत्रकार कुटेको आरोप लागेका जिल्ला संयोजकलाई रास्वपाले गर्‍यो निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङ जिल्लाका पार्टी संयोजक नगेन्द्र खड्कालाई पदबाट निलम्बन गरेको छ । जिल्लाका एक सञ्चारकर्मीलाई हातपात गरेको आरोप लागेपछि अनुशासन समितिको सिफारिसमा महामन्त्री डा. मुकुल ढकालले निलम्बन गरेका हुन् ।

खड्काले बझाङको सामुदायिक रेडियाे खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकार मण्डललाई सोमबार घरबाटै अपहरण गराएर होटलमा लगी कुटपिट गरेको आरोप लगाइएको छ ।

यस विषयमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो । सञ्चारमाध्यममा आएको समाचारका आधारमा रास्वपाको अनुशासन समितिले सामान्य जाँचबुझ गरेको थियो ।

खड्का दोषी देखिएपछि आजै बसेको अनुशासन समितिको बैठकले पार्टीलाई निलम्बन सिफारिस गरेको हो । महामन्त्री ढकालले घटनाको थप छानबिन गरिने बताए ।

‘अहिले अनुसन्धान सहज होस् भनेर निलम्बन गरिएको हो । पूर्ण छानबिनबाट दोषी देखिएको खण्डमा पार्टीको केन्द्रीय कमिटी बैठकले कारबाहीको निर्णय लिनेछ’, उनले नेपाल प्रेससँग भने ।

खड्का कांग्रेस पृष्ठभूमिका हुन् । उनी केहीअघि कांग्रेसबाट विवेकशील पार्टीमा प्रवेश गरेका थिए । विवेकशीलबाट रास्वपा आएर उनले जिल्ला संयोजकको भूमिका निभाउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर