मनाङविरुद्ध मछिन्द्रको उत्कृष्ट पुनरागमन जित – Nepal Press

मनाङविरुद्ध मछिन्द्रको उत्कृष्ट पुनरागमन जित

काठमाडौं । ओलावाले आफिजको दुई गोल प्रेरित मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणमाको खेलमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध ३-१ गोलको नतिजामा उत्कृष्ट पुनरागमन जित निकाल्दै सिजनको सुखद समापन गरेको छ।

दशरथ रंगशालामा भएको खेलको १६औँ मिनेटमा विजया श्रेष्ठले गरेको गोलसँगै मनाङले अग्रता लिएको थियो। पहिलो हाफमा ०–१ को अग्रता लिएको मनाङले दोस्रो हाफमा दुई गोल खायो।

ओलावाले आफिजले ८०औँ मिनेटमा गोल गर्दै मछिन्द्रलाई बराबरीमा ल्याएका थिए। त्यसको ६ मिनेट नबित्दै विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए।

इन्जुरी समयमा ओलावालेले पुनः गोल गर्दै मछिन्द्रको पक्षमा ३–१ को जित सुनिश्चित गरे।

जितसँगै २६ खेलबाट ४५ अंक जोडेको मछिन्द्रले उपविजेता बन्दै सिजन टुङ्ग्याएको छ। यसअघि लगातार दुई सिजन च्याम्पियन बनेको मछिन्द्र च्याम्पियन चर्च ब्वाइज युनाइटेडभन्दा तीन अंकले पछाडि पर्‍यो।

यो सिजन ४८ अंक जोडेको चर्च ब्वाइज एक खेल अगावै च्याम्पियन बनिसकेको थियो। पराजित मनाङ २६ खेलबाट ३३ अंक जोडेर आठौँ भएको छ।

संकटा र एनआरटीको बराबरी

आजै च्यासल रंगशालामा भएको खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका छन्।

पहिलो हाफको इन्जुरी समयमा नेल्सन कन्फोरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा एनआरटीका लागि कप्तान विक्रम धिमालले बराबरी गोल फर्काए।

बराबरीसँगै संकटा २६ खेलबाट ३३ अंक जोडेर लिगमा नवौँ भएको छ। एनआरटी ३४ अंक जोडेर छैटौँ भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर