नेतालाई फरक भूगोल- संसदीय राजनीतिमा आएपछि एमालेले किन गर्‍यो नयाँ अभ्यास ? – Nepal Press

नेतालाई फरक भूगोल- संसदीय राजनीतिमा आएपछि एमालेले किन गर्‍यो नयाँ अभ्यास ?

काठमाडौं । नेकपा एमालेले गत शुक्रबारको सचिवालय बैठकको निर्णयअनुसार मंगलबार नेताहरुको कार्यविभाजनसहितको अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्‍यो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानिमा पार्टीलाई थप प्रभावकारी बनाउने भन्दै नेताहरूलाई फरक जिल्ला र भूगोलमा इन्चार्ज बनाएर पठाएको छ ।

जिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रित भएर काम गर्दै आएका नेताहरुलाई एमालेले अर्को जिल्ला तथा स्थानीय तहको नेतृत्वको जिम्मेवारी सुम्पेको हो । तर, पार्टीको यो निर्णयप्रति सबै नेताहरु खुशी छैनन् ।

केही नेताहरुले खुलेरै विरोध गरे पनि कतिपयले पार्टी नेतृत्वसामु आफ्नो कुरा राख्न नसकेपछि तैं चुप मैं चुपको अवस्थामा छन् ।

पार्टीको जिम्मेवारी बाँडफाँटको विषयमा असन्तुष्टि राख्नेमध्येका एक हुन् पोलिटव्युरो सदस्य गोकुल बास्कोटा । काभ्रेलाई केन्द्र बनाएर राजनीति गर्दै आएका बास्कोटालाई सिन्धुपाल्चोकको इन्चार्जको जिम्मेवारी दिइएको छ । पार्टीले छिमेकी जिल्लाको नेतृत्वमा पठाउँदा उनी सन्तुष्ट छैनन् ।

गृहले सीडीओ सरुवा गरे झैं बहुदलीय राजनीतिमा मान्छेको सरुवा गर्न नमिल्ने उनको तर्क छ ।

बास्कोटाले भनेका छन्, ‘आफूलाई केमात्र ठान्छन् हो ? कोही कोही त गृहले सीडीओ सरुवा गरे झैं बहुदलीय राजनीतिमा मान्छेको सरुवा गर्न मिल्दैन नि ! कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर । उखानै छ- एक दिनको पाहुना मीठो मीठो खा, दुई दिनको पाहुना जेसुकै खा, तीन दिनको पाहुना जतासुकै जा । हुने त्यही हो, कुरा बुझे भैगो ।’

त्यसो त एमालेले सातै प्रदेशका इन्चार्जसमेत परिवर्तन गरेर सचिवहरूलाई पनि फरक प्रदेशमा खटाएको छ । दुई महिने मिसन ग्रासरुट अभियान चलाएको एमालेले अहिले सचिवलाई नै फरक प्रदेशको जिम्मेवारीमा पठाएको हो ।

सचिव रघुवीर महासेठलाई कोशी प्रदेशमा, योगेश भट्टराईलाई मधेशमा, गोकर्ण विष्टलाई गण्डकीमा, पद्मा अर्याललाई लुम्बिनीमा, लेखराज भट्टलाई कर्णाली र छविलाल विश्वकर्मालाई सुदूरपश्चिमको इन्चार्ज बनाएर पठाइएको छ । बागमतीको इन्चार्ज भने तोकिएको छैन ।

तर, पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम कसैको असन्तुष्टि भए पार्टी कार्यालयमा आएर आफ्नो अभिमत राख्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘बाहिर सडकमा आफ्नो अभिमत राखेर त्यसको सुनुवाइ हुने सम्भावना चाहिँ मैले कमै देख्छु । पार्टीले दिएको जिम्मेवारीलाई नै मुख्य ध्यान हुनुपर्छ ।’

एउटा ठाउँबाट निर्वाचित भएको नेताले अर्को ठाउँमा गएर काम गर्नुपर्दा पार्टीगत रुपमा पनि असर गर्दैन र भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘अहिले भर्खरै अर्को चुनाव हुने होइन । पार्टीको काम गर्ने हो । चुनाव आउन अझै ४ वर्षभन्दा धेरै बाँकी छ । एक वर्षपछि उहाँहरुलाई आफ्नै क्षेत्रमा फर्काइन्छ ।’

किन पठाइयो अर्को क्षेत्र ?

उनले नेताहरुलाई पार्टीको विधानबमोजिम पूर्णकालीन राजनीतिक कार्यकर्ता हुने बताउँछन् ।

उनले भने, ‘पूर्णकालीन कार्यकर्ता भएपछि खटाएको ठाउँमा दिइएको जिम्मेवारी पूरा गर्न जाने हो । विगतमा झैं मिसिन ग्रासरुटको गतिविधि बढाउनुपर्‍यो, नेताहरुलाई गाउँ पठाउनुपर्‍यो भन्ने देशव्यापी रुपमा माग बढेपछि मिसन ग्रासरुटको मूल्यांकनको आधारमा नयाँ कार्यक्षेत्रमा नयाँ सदस्य पठाउने कार्ययोजनाको साथ जिल्ला निर्वाचन क्षेत्रसम्ममा कार्यकर्ता खटाएका छौं । यसो गर्दा लोकल लेभलमा कुनै स्वार्थ जोडिएको हुँदैन ।’

पार्टीमा निष्पक्ष कार्यसम्पादन गर्न नै नेताहरुलाई अर्को क्षेत्रमा पठाएको उनको भनाइ छ ।

‘पार्टीलाई वैचारिक राजनीतिक ढंगले रचनात्मक रुपमा नेतृत्व गर्नसक्छ र उसको लोकल कुनै पनि इन्ट्रेस हुँदैन । त्यसले गर्दा पार्टी निर्माणमा बल पुग्छ भन्ने उद्देश्यका साथ हामीले अलग अलग जिल्लामा भएका पार्टीका नेताहरुलाई कार्यक्षेत्र बदलेर अर्को क्षेत्रमा पठाइएको हो’, नेता गौमतले भने ।

‘नयाँ अभ्यास होइन’

त्यसो त एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेताहरुलाई अर्को जिल्लामा पठाउनु नयाँ अभ्यास नभएको बताउँछिन् । तर, संसदीय राजनीतिमा आइसकेपछि चाहिँ पहिलो पटक हो । बहुदलीय व्यवस्थाअघि पनि नेताहरु यसरी नै अर्को जिल्लाको नेतृत्वमा हुन्थ्यो ।

उनले भनिन्, ‘हामीले अहिलेमात्रै होइन । पहिला पहिला पनि गर्थ्यौं । आफ्नै जिल्लामा बसेरभन्दा पनि नेतृत्वले एकअर्काका सबै कमजोरी थाहा पाउनुपर्छ भन्ने कुरा हो । पहिला पहिला पनि हामीले गर्ने गरेका थियौं । तर, संसदीय राजनीतिमा आइसकेपछि हामी देशव्यापी रुपमा केन्द्रित हुन सकेनौं । हामी आफ्नै जिल्ला र आफ्नै क्षेत्रमा केन्द्रित भयौं ।’

नेताहरुले एउटै क्षेत्रमा केन्द्रित हुँदा पार्टीको समस्या पहिचान गर्न नसकेको उनको बुझाइ छ ।

उनी भन्छन्, ‘पार्टीको समस्यासँग जानकारी होस् र सहयोग पनि होस् भन्नका लागि नेताहरुलाई अर्को क्षेत्रमा पठाएका हौं । यसले पार्टीलाई एक ढिक्का बनाउन सहयोग पुग्छ ।’

पार्टीले नेताहरुलाई एक वर्षको लागि मात्रै अर्को क्षेत्रको जिम्मेवारी दिएर पठाएकाले नेताहरुले असन्तुष्टि पोख्नुको अर्थ नहुने उनले औंल्याइन् ।

शाक्यले थपिन्, ‘चुनाव अगाडि त सबै आआफ्नै क्षेत्रमा खटिहाल्नुहुन्छ । यसले संगठन व्यवस्थित बनाउन नेतृत्वले भनेपछि सबैले काम गर्नुपर्छ । आफ्नै ठाउँमा मात्रै केन्द्रित भएर पार्टीको समस्या थाहा हुँदैन । यसले पार्टीभित्रको अन्तरविरोधको पनि अन्त्य हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर