नेपाल राष्ट्र बैंकको प्रतिवेदन : सुधारिँदै अर्थतन्त्र, कस्ता छन् आर्थिक परिसूचक ? – Nepal Press

नेपाल राष्ट्र बैंकको प्रतिवेदन : सुधारिँदै अर्थतन्त्र, कस्ता छन् आर्थिक परिसूचक ?

रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको १० महिनाको देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकको प्रतिवेदनले महंगी घट्दै गएको देखाएको छ । बाह्य क्षेत्रको व्यापक सुधार देखिन्छ । १० महिनाको तथ्यांकले मुलुकमा महंगी ७.४१ प्रतिशतमा सीमित रहेको देखिन्छ । जबकी अघिल्लो महिना ७.७६ प्रतिशत महंगी रहेको थियो ।

सरकारले चालू वर्ष ७ प्रतिशतले मूल्यवृद्धिको सीमितको लक्ष्य राखेको थियो । असार मसान्तसम्म लक्ष्यभित्र आइपुग्ने केन्द्रीय बैंंकका अधिकारीहरु बताउँछन् ।

१० महिनामा १० खर्ब रेमिट्यान्स

रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । योसँगै देशमा १० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । वैदेशिक रोजगारीका लागि जानेहरु बढेसँगै रेमिट्यान्समा पनि उल्लेख्य सुधार आएको केन्द्रीय बैंकले जनाएको छ ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिग-नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको छ ।

सोधानान्तर स्थिति झण्डै सवा २ खर्बले बचत

सोधानान्तर स्थिति पनि सुधारिएको छ । यो अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर अहिले १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।

यता चालू खाता घाटा पनि साँघुरिएको छ । अघिल्लो वर्ष ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा रहेको चालूखाता चालू आर्थिक वर्षको १० महिनामा घटेर .५४ अर्ब ६७ करोडमा आइपुगेको छ ।

झण्डै १५ खर्ब पुग्न लाग्यो विदेशी मुद्राको सञ्चिति

वैशाख मसान्तसम्म (२०८०) विदेशी मुद्राको सञ्चिति .१४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब २१ करोड कायम भएको छ । जबकी गत असारमा विदेशी मुद्राको सञ्चिती १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो ।

अहिलेको सञ्चितिले आर्थिक वर्ष २०७९/८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रिय बैंकले भनेको छ ।

२०८० वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ८०.७ प्रतिशत र २५.० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

व्यापार घाटा पनि खुम्चियो

आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई १ खर्ब ३० अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३.६ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुक तर्फको निर्यात क्रमशः १००.६ प्रतिशत र ८.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल वस्तु आयात १६.८ प्रतिशतले कमी आई .१३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८.० प्रतिशतले बढेको थियो ।

कर्जा र निक्षेप दुवैमा वृद्धि

आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल आन्तरिक कर्जा ५.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ११.६ प्रतिशतले बढेको थियोे । वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोड (७.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ३१ अर्ब ३२ करोड (५.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ ।

यस्तो छ वर्तमान आर्थिक तथा वित्तीय स्थिति

– वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ ।

– आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ ।

– विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ ।

– शोधनान्तर स्थिति .२ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

– कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड र अमेरिकी डलरमा ११ अर्ब २१ करोड रहेको छ ।

– संघीय सरकारको खर्च .१० खर्ब ४७ अर्ब ७६ करोड र राजस्व परिचालन .७ खर्ब ५६ अर्ब २५ करोड रहेको छ ।

– विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ ।

– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर