गिरोहले प्रचण्डलाई भेटेकोबारे पूर्वमहान्यायाधिवक्ताको बहस- टेकनाथले बोलेको पत्याउन मिल्दैन – Nepal Press
नक्कली शरणार्थी प्रकरण

गिरोहले प्रचण्डलाई भेटेकोबारे पूर्वमहान्यायाधिवक्ताको बहस- टेकनाथले बोलेको पत्याउन मिल्दैन

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको बयानलाई विश्वासिलो मान्न नहुने तर्क गरेका छन् । रिजालले नै विभिन्न पुस्तकमा आफ्नो दिमाग आफ्नो नियन्त्रणमा नरहने भनी लेखेको उनले इजलासमा बताए ।

रिजालले सरकारी वकिललाई दिएको बयानमा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाउने गिरोहसहित आफूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको निवासमै लगेर भेट गराएको बताएका छन् । सो भेटघाटमा प्रचण्डले टोपबहादुरमार्फत सबै काम हुने बताएको र त्यसपछि काम पनि खुरुखुरु भएको तथा आफ्नो रोकिएको सुविधा पनि सुचारु भएको उनको बयान थियो । रायमाझीको तर्फबाट बहस गरिरहेका पूर्वमहान्यायाधिवक्ता बडालले त्यसको प्रतिवाद गरेका हुन् ।

बडालले टेकनाथले पोलेकै भरमा टोपबहादुरलाई दोषी ठहर्‍याउने हो भने प्रमुख दोषी प्रचण्ड हुने जिकिर गरेका थिए । न्यायाधीशले अब त्यतातिर नजाऔं भने ।

उनले रिजालद्वारा लिखित दुईवटा पुस्तक पनि बोकेर आएका थिए । ती पुस्तकमा रिजालले भुटानको जेलमा चरम यातनाका कारण आफ्नो मानसिक अवस्था ठीक नरहेको र आफ्नो दिमागलाई अरुले नै नियन्त्रण गरेको उल्लेख गरेका छन् । पुस्तकका दुई अंश बडालले पढेर सुनाउँदा अदालतको माहोल नै भावुक बनेको थियो ।

न्यायाधीशले रिजाललाई हेर्दै आँखा पुछेका थिए भने रिजालले दुवै हातले अनुहार छोपेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर