गाउँपालिका अध्यक्षले कर्मचारी कुट्ने छोरालाई जोगाउन खोजेपछि काममा फर्केनन् कर्मचारी – Nepal Press

गाउँपालिका अध्यक्षले कर्मचारी कुट्ने छोरालाई जोगाउन खोजेपछि काममा फर्केनन् कर्मचारी

रुपन्देही । प्युठानको झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई हातपात र दुव्र्यवहार भएपछि पालिकाका सबै कर्मचारीले काम छाडेर आन्दोलनमा गएका छन् भने जिल्लाका कर्मचारी संगठन, अन्य पालिकाका कर्मचारीहरुले दोषीलाई कारबाहीको माग गर्दै उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

बुधबार कार्यालय समयमै भएको हातपातपछि सबै कर्मचारीले काम छाडेर बसेका छन् ।

बिहीबार प्रमुख जिल्ला अधिकारीको समन्वयमा पटक–पटक बैठक बसेपनि कुनै समाधान भएको छैन ।

निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति प्यूठानका अध्यक्ष हरिप्रसाद पौडेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिति प्यूठानका उपाध्यक्ष विकास गुरुङ, नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्य समिति प्यूठानका अध्यक्ष खिमबहादुर अधिकारीले संयुक्त विज्ञप्ती जारी गरी आन्दोलनमा साथ दिने जनाएका छन् ।

कार्यस्थलमा कार्यालयको काममा खटिएका कर्मचारीहरुलाई मनोवल घटाउने र कर्मचारीलाइ धम्काएर काम गराउन खोज्ने यस्ता कार्य सार्वजनिक अपराध भएको भन्दै कर्मचारीहरुले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

तर पालिका अध्यक्ष पितबहादुर एमसीले उल्टै छोरालाई दोष नभएको देखाउन खोजेपछि कर्मचारीहरु आक्रोशित भएका हुन् ।

कर्मचारीहरुसँग कुनै गुनासो भएमा प्रमुख प्रशासकीय अधिकृत या गाउँपालिका अध्यक्ष, उपाध्यक्षसग बसी समाधान खोज्नुपर्नेमा गाउँपालिका अध्यक्षकै छोरा लगाएत निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुबाट यस्तो कार्य हुनु निकै निन्दनीय मात्रै छैन अपराधजन्य भएकाले घटनाको सत्यतथ्य छानविन गरी सलग्न व्यक्तिहरुमाथि कानुनी कारवाहीका लागि जिल्लाभरका कर्मचारीले माग गरेका छन् ।

कार्यस्थलमा काम गर्ने वातावरण नभएकोले झिमरुक गाउँपालिकाका कर्मचारीहरुले हाल अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरी न्यायको लागि उठाएको आवाजप्रति जिल्लामा कृयाशील ट्रेड युयियनहरुले ऐक्यवद्धता जनाएका छन् ।

कर्मचारीहरुलाई सहज वातावरण बनाइ कामकाजमा खटाउनुका सट्टा धम्काउने, गालीगलौज गर्ने तथा अभद्र व्यवहारबाट समस्याको समाधान नहुने उल्टै सेवा प्रवाहमा समेत असर पर्ने हुँदा यस्ता कार्य नगर्न समेत सबै सरोकारवालाहरुलाइ कर्मचारी संगठनहरुले अनुरोध गरेका छन् ।

उक्त घटनापश्चात झिमरुक गाउपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुले न्यायको लागि आवाज उठाउन अत्यावश्यक सेवाबाहेक अन्य सेवा स्थगित गरेको विषयमा प्यूठान जिल्ला अन्तरगत रहेका स्थानीय तहहरुमा कार्यरत प्रमुख प्रशासकिय अधिकृतहरुले ऐक्यवद्धता जनाएका छन् ।

घटनाको विरोध स्वरुप जेठ २६ गते प्यूठान जिल्लाका अन्य सबै स्थानीय तहहरुमा कार्यरत कर्मचारीहरुले कालोपट्टी बाँची कार्य गर्ने जनाएका छन् ।

सबै पालिकाका प्रमुख प्रशासकी अधिकृतले सामुहिक विज्ञप्तीमार्फत घटनाको विरोध गर्दै आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।

गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले दोषीलाई कारबाहीको माग गर्ने कर्मचारीको आन्दोलन जायज भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *