‘परस्त्री’को ट्रेलर सार्वजनिक, शिल्पाको सरप्राइज बोल्ड सिन – Nepal Press

‘परस्त्री’को ट्रेलर सार्वजनिक, शिल्पाको सरप्राइज बोल्ड सिन

काठमाडौं । आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने इरोटिक थ्रिलर सिनेमा ‘परस्त्री’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको ट्रेलरमा माया, यौन, धोका र अपराधको कथालाई केन्द्रमा राखिएको छ ।

अभिनेत्री शिल्पा मास्के रेडियोमा कार्यक्रम चलाउँछिन् । उनलाई श्रीमान् कोसिस क्षेत्रीले सधैं शंका गर्छन् । एक दिन जिमखानामा उनको भेट गौरव विष्टसँग हुन्छ ।

विस्तारै उनीहरु एकअर्कासँगको सामिप्यतासँगै शारीरिक सम्बन्ध स्थापित गर्छन् । उता कोसिसको पनि परस्त्रीसँग अनैतिक सम्बन्धमा हुन्छन् । दुवैको अनैतिक सम्बन्धका कारण आइपर्ने समस्यालाई सिनेमा ट्रेलरमा प्रस्तुत गरिएको छ ।

ट्रेलरमा शिल्पाका केही ‘बोल्ड सिन’ छन्, जसले दर्शकलाई ‘सरप्राइज’ बनाउन सक्छ । ट्रेलर रिलिज कार्यक्रममा उनले सिनेमामा निर्वाह गरेको भूमिका आफ्नो लागि चुनौतीपूर्ण रहेको बताइन् ।

‘म फरक भूमिका निर्वाह गर्न रुचाउँछु । तर, यो सिनेमाको भूमिका एकदमै चुनौतीपूर्ण थियो । स्क्रिप्ट पढेपछि काम गर्न सक्छु र भन्ने समेत लागेको थियो । यद्यपि, प्रयास गरेकी छु,’ शिल्पाले बताइन् ।

नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको सिनेमालाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । शर्मिला पाण्डे सिनेमाकी निर्मात्री हुन् ।

दीपेन्द्र के खनालको लेखन रहेको सिनेमामा एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ । सिनेमामा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *