जम्बो टोली भारत लगेकोबारे प्रधानमन्त्रीको जवाफ : परम्परा यस्तै छ, मैले के गर्ने ? – Nepal Press

जम्बो टोली भारत लगेकोबारे प्रधानमन्त्रीको जवाफ : परम्परा यस्तै छ, मैले के गर्ने ?

भारतमा पाएको स्वागतको बयान गर्दै भने- चोक-चोकमा डान्स, नारावाजी र बाजागाजा थिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा १२० जनाको जम्बो टोली लगेको विषय निकै आलोचित बन्यो । आज राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले यस विषयमा प्रष्टीकरण दिएका छन् ।

सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा दाहालले भारत भ्रमण टोली जम्बो भएको स्वीकार गरे । तर, यो परम्परा नै बसेकाले आफू दोषी नभएको उनको भनाइ थियो ।

‘सबै प्रधानन्त्रीले नेपालबाट भारत जाँदा जम्बो लैजाने गरिएको छ । परम्परा नै जम्बो छ । मैले त घटाउन खोज्या हो,’ दाहालले भने ।

आधिकारिक र सरकारी खर्चमा गएको टोली ४० वरिपरिको मात्रै रहेको उनको दावी थियो । ४८ जना निजी क्षेत्रका व्यवसायीहरु आफ्नै खर्चले गएको उनले बताए ।

‘निजी क्षेत्रका व्यवसायी र सञ्चारकर्मी धेरै भएकाले ठूलो देखिया मात्रै हो । ठूलो हो भने पनि हाम्रो परम्परा नै हो । म त घटाउनेमै छु’, दाहालले भने ।

भ्रमण टोलीका सदस्यहरु संवेदनशील स्थानमा सेल्फी खिचेर बसेको विषयमा सांसदहरुले प्रश्न गरेका थिए । सरकारसँग अफिसियल क्यामराम्यान नभएको हो कि भन्ने उनीहरुको जिज्ञासा थियो ।

प्रधानमन्त्रीले भ्रमण टोलीमा टन्नै क्यामराम्यान भएको बताए ।

‘प्रधानमन्त्रीका क्यामराम्यान पनि थिए, सरकारका पनि थिए । सेल्फी कसले खिच्यो मैले थाहा पाइनँ’, उनले भने ।

भारतमा नेपालको भ्रमण टोलीलाई भव्य स्वागत गरिएको प्रधानमन्त्री दाहालको दावी छ । आफूले कतै पनि अपमानित महसुस नगरेको उनले बताए ।

‘म विल्कुल अपमानित भएको छैन । सम्मानित भएको महसुस छ । जाबो राज्यमन्त्रीले स्वागत गरेको भनेका छन् । तर, जुन प्रधानमन्त्रीलाई पनि राज्यमन्त्रीले नै हो स्वागत गर्ने । म दोस्रोपटक राजकीय भ्रमणमा जाँदा विदेश मन्त्री सुश्मा स्वराज नै आउनुभएको थियो । यसपाली औपचारिक भ्रमण मात्रै भएकाले राज्यमन्त्री आउनुभयो,’ उनले भने । अरु कुरामा राजकीय सम्मानभन्दा कम महसुस नभएको दाहालले बताए ।

मध्यप्रदेश जाँदाको पाएको स्वागतको प्रधानमन्त्रीले खुबै वर्णन गरे ।

‘मध्यप्रदेश जाँदा झकिझकाउको कुरा गर्ने हो भने… इन्दोरबाट झर्नेवित्तिकै थरिथरिका नाचगाना, झण्डा, बाजागाजा… उज्जेनसम्म चोकचोकमा डान्स र नारावाजी । म सम्मानित भएर आएको ठान्या छु, तपाईंहरुले अपमान देख्ने ?’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर