संसदमा असीम साहको प्रश्नः विदेशी चलचित्रको भन्सार शुल्क किन घटाइयो ? (भिडिओ) – Nepal Press

संसदमा असीम साहको प्रश्नः विदेशी चलचित्रको भन्सार शुल्क किन घटाइयो ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले विदेशी फिल्मको भन्सार शुल्कको विषय उठाउँदै सरकारले गरेको नयाँ व्यवस्थामाथि आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शाहले संसदमा चलचित्र विकास बोर्डले दिएको सुझावलाई बेवास्ता गर्दै सरकारले विदेशी चलचित्रमा एक प्रतिशतमात्र भन्सार शुल्क लगाएकोमा आपत्ति जनाएका हुन् ।

उनले भने, ‘चलचित्रको पैठारीमा लाग्ने भन्सार शुल्क ५ प्रतिशत बनाउनुपर्ने सुझाव चलचित्र विकास बोर्डले दिए पनि सरकारले भन्सार शुल्क पहिलेको भन्दा झनै कम गरेर १ प्रतिशतमा झार्‍यो । पाँच प्रतिशतको ठाउँमा अब मात्र एक प्रतिशत भन्सार शुल्क तिरेर विदेशी चलचित्र नेपालमा लाग्न पाउने घोषणा गरियो । यसले के प्रश्न तेर्साएको छ भने नेपाल सरकारले विदेशी चलचित्रको प्रवर्द्धन गर्दैछ वा नेपाली चलचित्रको ? सरकारले बेलैमा मनन गरोस् ।’

उनले संसदमाा नेपाली चलचित्रलाई आकर्षक पर्यटन गन्तव्यको रुपमा विकास गर्ने र दोलखा अनि बनेपामा फिल्म सिटी इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाउने दुइटा कुरामै सरकारले समग्र चलचित्र क्षेत्र समेटेको गुनासो पोखे ।

‘हरेक सरकारले एकपछि अर्को वर्ष यही बोल्छ । तर, कार्यान्वयन गर्ने केही आधार देखिएको छैन’, सांसद शाहले भने ।

उनले आन्तरिक पर्यटन प्रवर्द्धनमा नेपाली चलचित्रले खेलेको भूमिकालाई सरकारले बेवास्ता गरेको आरोप लगाए । ‘आजसम्म पनि हामी २०२६ सालमा बनेको चलचित्र नीतिलाई पछ्याउँदैछौं । यो नीति कहिले फेर्छौं हामी ? नेपाली चलचित्र आयातित चलचित्रको मारमा परिरहेको समयमा सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट र योजना सुनाएर थप पीडा थपेको छ’, उनले भने ।

चलचित्रसम्बन्धी मुद्दालाई संसदमा उठाएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले शाहलाई सामाजिक सञ्जालबाट धन्यवाद दिएका छन् ।


प्रतिक्रिया

One thought on “संसदमा असीम साहको प्रश्नः विदेशी चलचित्रको भन्सार शुल्क किन घटाइयो ? (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर