चलचित्रका मुद्दा संसदमा उठाएको भन्दै भुवन केसीले आसिम साहलाई दिए धन्यवाद – Nepal Press

चलचित्रका मुद्दा संसदमा उठाएको भन्दै भुवन केसीले आसिम साहलाई दिए धन्यवाद

काठमाडौं । प्रतिनिधि सभा सदस्य असिम शाहले संसदमा चलचित्रका मुद्दा उठाएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उनलाई धन्यवाद दिएका छन् ।

केसीले बजेट विनियोजन पश्चात विकास बोर्डको माग सुनुवाइ नभएको बताउँदै आएका थिए । शाहले सोही मुद्दा संसदमा उठाएपछि खुशी हुँदै केसीले शाहलाई धन्यवाद दिएका हुन् । उनले शाहलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि संसदमा नेपाली चलचित्रको हकहितका आवाज उठ्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

आज प्रतिनिधि सभामा भएको आर्थिक वर्ष २०८०/८१ को छलफलमा शाहले चलचित्रका मुद्दा उठाएका थिए । उनले सभामा विकास बोर्डको स्वायत्तता र विचाराधीन चलचित्र नीतिबारे बोले । चलचित्रको पैठारीमा लाग्ने भन्सार शुल्क पाँच प्रतिशत बनाउनु पर्ने सुझाव चलचित्र विकास बोर्डले पठाए तापनि सरकारले भन्सार शुल्क पहिलेभन्दा झनै कम गरेर एक प्रतिशतमा झारेकोमा उनले आपत्ति जनाए ।

‘पाँच प्रतिशतको ठाउँमा अब मात्र एक प्रतिशत भन्सार शुल्क तिरेर विदेशी चलचित्र नेपालमा लाग्न पाउने घोषणा गरिएको छ । नेपाल सरकारले विदेशी चलचित्रको प्रवर्दन गर्दैछ वा नेपाली चलचित्रको ?’, उनले सरकारले यस विषयमा नजर लगाउनु पर्ने बताउँदै प्रश्न गरे ।

नेपाली चलचित्रलाई आकर्षक पर्गटन गन्तव्यको रुपमा विकास गरिने र दोलखा अनि बनेपामा फिल्म सिटी ईन्डो स्टुडियो निर्माण प्रक्रिया अघि बढाउने दुईवटा कुरामै सरकारले समग्र चलचित्र क्षेत्र समेटेको गुनासो पोखे । ‘हरेक सरकारले एकपछि अक्रो वर्ष यहीँ बोल्छ तर कार्यन्वयन गर्ने भन्ने केही आधर देखिएको छैन’, उनले भने ।

आन्तरिक पर्यटक प्रवर्द्धनमा नेपाली चलचित्रले खेलेको भूमिकालाई सरकारले बेवास्ता गरेको र आजसम्म पनि २०२६ सालमा बनेको नीतिलाई नै पछ्याउँदै आएको उनको भनाइ छ । उनले नेपाली चलचित्र आयातित चलचित्रको मारमा परिरहेको समयमा सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट र योजना सुनाएर थप पीडा थपेको बताएका छन् ।

शाह सांसद हुनु पूर्व एक चलचित्र निर्देशक हुन् । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् । २०२२ मा सम्पन्न आम निर्वाचनमा उनी मुस्लिम वर्गबाट ​​समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर