भक्तपुर क्याम्पस प्रमुखमाथि नेविसंघको अभद्र व्यवहारप्रति अनेरास्ववियुको विरोध, छानबिन गर्न क्रान्तिकारीको माग – Nepal Press

भक्तपुर क्याम्पस प्रमुखमाथि नेविसंघको अभद्र व्यवहारप्रति अनेरास्ववियुको विरोध, छानबिन गर्न क्रान्तिकारीको माग

काठमाडौं । अनेरास्ववियु र अखिल क्रान्तिकारीले भक्तपुर बहुमुखी क्याम्पसमा भएको तालाबन्दी र क्याम्पस प्रमुखले पद बहाली गर्ने क्रममा भएका घटनाको छानबिन गर्न माग गरेका छन् ।

अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष यादव दुलालले विज्ञप्ति जारी गर्दै त्रिविले क्याम्पस प्रमुख नियुक्त गरेको कविता लुइटेललाई कुनै कारण बिना अभद्र व्यवहार गरिएको र क्याम्पसको भौतिक सम्पत्तिमाथि क्षति पुग्ने खालको गतिविधिको विरोध गर्दै भर्त्सना गरेका छन् ।

त्यस्तै, स्ववियु सभापतिले कुनै एक विद्यार्थी संगठनको विरोधको समर्थनमा निकालिएको विज्ञप्तिप्रति पनि अनेरास्ववियुले विरोध जनाउँदै सच्याउन माग गरेको छ ।

क्याम्पसका कार्यक्रमको आर्थिक पारदर्शिता, कर्मचारी नियुक्त गर्दा खुल्ला विज्ञापनको आधारमा, गर्नुपर्ने तथा ईहाजिरीको व्यवस्थालगायत व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

त्यसैगरी, अखिल क्रान्तिकारीले पनि क्याम्पसमा जेठ २१ र २२ गते भएको घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ । अनेरास्ववियु क्रान्तिकारी भक्तपुर क्याम्पसका अध्यक्ष नवराज सिंह धामीले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

‘जेठ २१ गते नयाँ क्याम्पस प्रमुखले पद बहाली गर्दा विवादको विषय साथै जेठ २२ गते क्याम्पसमा भएको तालाबन्दीलगायतका गतिविधिप्रति ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘यस घटनाको सत्य तथ्य छानबिन गर्न सम्बन्धित सरोकारवाला पक्षहरुसँग प्रत्यक्ष वार्तालाप गरी क्याम्पसमा सहज शैक्षिक वातावरण निर्माण गरी क्याम्पस प्रशासन सामु यथाशीघ्र जोडदार माग गर्दछौं ।’

समस्या समाधान नभए जस्तोसुकै कदम चाल्न पनि संगठन तयार रहेको क्रान्तिकारीले चेतावनी पनि दिएको छ ।

त्रिभुवन विश्व विद्यालयले जेठ २१ मा क्याम्पस प्रमुखमा कविता लुइटेललाई नियुक्त गरेको थियो । त्यसको विरोधमा नेविसंघले २२ गते क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याएका थिए ।

कनिष्ठलाई प्रमुख नियुक्त गरिएको उनीहरुको दाबी छ । तर त्रिविले भने नियमानुसार नै नियुक्त गरिएको जिकिर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर