प्रतिवादीका वकिलको जिकिर- नक्कली शरणार्थी बन्न आफैँ उक्सेर आएकाहरूले पनि कानून तोडेका छन् – Nepal Press

प्रतिवादीका वकिलको जिकिर- नक्कली शरणार्थी बन्न आफैँ उक्सेर आएकाहरूले पनि कानून तोडेका छन्

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादी तर्फका वकिलहरूको बहस सुरू भएको छ । अभियुक्त केशव दुलालको पक्षबाट बहस गरेका वकिलहरूले जाहेरवालाहरू आफैँ नक्कली भुटानी शरणार्थी बनेर जान उक्सेर आएको दाबी गरेका छन् ।

थापाले भने, ‘जाहेरवालाहरू आफैँ मलाई भुटानी शरणार्थी बनाइदेऊ भनेर उक्सेर आएका हुन् । इलिगल एक्ट गर्नका लागि प्रतिवादीहरूलाई जाहेरवालाले उत्प्रेरित गरेको हो ।’

नक्कली शरणार्थी बनेर अहिलेसम्म कोही पनि अमेरिका नपुगेको भन्दै उनले यो अपराध हुन नसक्ने तर्क गरे । यसअघि वादीतर्फका वकिलले पनि कानूनको उल्लंघन त पीडितले पनि गरेको छ नी भनेर प्रश्न गरेका थिए ।

दुलालकै पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले मान्छे पक्राउ गर्नेवित्तिकै सार्वजनिक गर्नु न्यायालयमाथि आक्रमण हुनुसरह भएको बताए ।

पक्राउ पर्नेवित्तिकै कुनैपनि व्यक्ति कसुरदार नहुने उल्लेख गर्दै उनले दोषी/निर्दोष छुट्याउने काम न्यायालयको मात्रै भएको बताए ।

उनले भने, ‘अभियोग दाबी गर्नु र मुद्दा स्थापित हुनु फरक हो । मुद्दा स्थापित प्रमाणले हुन्छ । तर, अभियोग हचुवाका भरमा लगाइएको छ । प्रमाणविना आरोप लगाइएको छ ।’

अर्का अधिवक्ता विश्वास आचार्य नगद पैसा लिएको कुरालाई आजसम्म अदालतले पुष्टि गर्न सकेको इतिहास नभएकोले प्रमाणले पुष्टि नगर्दा हचुवाको भरमा कसैलाई आरोप लगाउन नहुने जिकिर गरे ।

पैसा बुझाएको छु भन्ने भरमा मात्रै मुद्दा चलाएको उल्लेख गर्दै उनले यसलाई पुष्टि गर्ने आधार अरु नभएको उनको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “प्रतिवादीका वकिलको जिकिर- नक्कली शरणार्थी बन्न आफैँ उक्सेर आएकाहरूले पनि कानून तोडेका छन्

  1. अब कुरा धमिलो पानी बिस्तारै सङलीय जसरी नेपाली नागरिकलाइ नक्कली भुटानी शरर्णाथी बनाउने काण्डमा पक्राउ परेकाहरुको तर्फबाट उत्रिएका कानून व्यवसायीहरुले प्रस्तुत गरेका दलिलबाट स्पष्ट हुने लक्षण देखिन थालेको छ । एक बिचौलियाको बचाउमा वहस गरेका वकलिहरुले भनेका कुरा याद गरौँ “ मैले पैसा फलानोलाइ पैँसा दिएको हुँ,भनेको भरमा अदालतले प्रमाण मान्दैन र मानेका इतिहास पनि छैन । सरकारी वकिलहरुले पैँसा लेनदेन गरेको प्रमाण सहित मुद्दा दर्ता गरेका पनि छैनन । कुरा स्पष्ट हुने लक्षण देखिएन त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर