कर्जन्हा र बौधीमाई नगरपालिकाले आर्थिक वर्ष सकिनै लाग्दा पनि ल्याएनन् बजेट – Nepal Press

कर्जन्हा र बौधीमाई नगरपालिकाले आर्थिक वर्ष सकिनै लाग्दा पनि ल्याएनन् बजेट

बजेट पेश गरिसकेको दुवै नगरपालिको दाबी, मन्त्रालय भने बेखबर

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने बेला आउन केहि दिन मात्रै बाँकी रहँदा पनि दुई स्थानीय तहले चालू आर्थिक वर्ष ०७९/०८० को बजेट ल्याउन सकेका छैनन् ।

प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्यवको अनुमानसहित स्थानीय तहले बजेट गाउँ वा नगरसभामा पेश गर्नुपर्ने भए पनि मधेश प्रदेशका दुई स्थानीय तहले चालू आर्थिक वर्षको पनि बजेट ल्याउन नसकेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक अनुसार सिरहाको कर्जन्हा नगरपालिका र रौतहटको बौधिमाई नगरपालिकाले चालू आर्थिक वर्षकै बजेट ल्याउन नसकेका हुन् ।

कर्जन्हा नगरपालिकाले भने चालू आर्थिक वर्षको बजेट पेश भइसकेको तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पेश भएको सूचीमा नगरपालिकालाई नराखेको नगरपालिकाका सूचना अधिकारी निरजकुमार यादवले नेपाल प्रेससँग दाबी गरे ।

उनले भने, ‘नगरपालिकाले बजेट पेश गरिसकेको छ । मन्त्रालयललाई हामीले पेश गरिसकेको भनेर जानकारी र विवरण पनि बुझाइसकेका छौ । तर मन्त्रालयले मन्त्रालयको प्रणालीमा बजेट पेश नगरेको भनेर राखेको छ ।’ सूचना अधिकारी यादवले बजेट कहिले पेश भएको भन्ने बारेमा भने आफूलाई जानकारी नभएको बताए ।

बौधिमाई नगरपालिकाका सूचन अधिकारी मोहम्मद जहाँगीरले पनि नगरपालिकाले बजेट पेश गरिसकेको दाबी गरेका छन् । उनले भने, ‘हाम्रो वेव साइटमा गएर हजुरले हेर्न सक्नुहुन्छ पेश भएको सबै विवरण उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा किन देखाएन त्यो त मलाई जानकारी भएन ।’ तर, ढिलोगरी फागुनतिर मात्रै बजेट पेश भएको भने सूचना अधिकारी जहाँगीरले स्विकार गरे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने मन्त्रालयको प्रणालीमा बजेट पेश गरेको विवरण नराख्दासम्म मन्त्रालय जानकार नहुने जनाएको छ ।

पेश गरेकालाई प्रणालीमा हाल्न आग्रह गरिएको तर, दुइ स्थानीय तहको अहिलेसम्म पनि नहालेका कारण प्रणालीमा बजेट पेश भएको नदेखिएको मन्त्रालयका सहसचिव एवक प्रवक्ता कमलप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर