जोरपाटीको मुक्ति सहकारी अध्यक्षको आत्महत्या प्रकरण: म्यानेजरसहित ५ जनाविरुद्ध मुद्दा – Nepal Press

जोरपाटीको मुक्ति सहकारी अध्यक्षको आत्महत्या प्रकरण: म्यानेजरसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर तामाङले आत्महत्या गरेको घटनामा सोही सहकारीका ५ पदाधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।

५१ वर्षीय तामाङ गत बैशाख २६ गते वनकालीको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले घटनास्थलबाट चार पानाको सुसाइड नोट फेला पारेको थियो । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि मुक्ति सहकारी केही वर्षयता संकटमा थियो । ३०० भन्दा बढी बचतकर्ताले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

सुसाइड नोटमा उल्लेख भएअनुसार मृतककी श्रीमती बबिताले मुक्ति सहकारीका म्यानेजरसहित ५ जना पदाधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएकी थिइन् ।

त्यसपछि प्रहरीले सहकारीका कोषाध्यक्ष कृष्णप्रसाद बस्ताकोटी, उपाध्यक्ष इन्द्र आचार्य, सदस्य कृष्णप्रसाद पोखरेल, लेखा समिति संयोजक यामप्रसाद धिताल र म्यानेजर पिताम्बर पौडेललाई पक्राउ गरेको थियो ।

उनीहरुले चरम यातना दिएको र षड्यन्त्र गरेको आरोप सुसाइड नोटमार्फत लगाइएको थियो ।

जाहेरवाला बबिताले सहकारीले सञ्चालन गरेको मुक्ति सोप फ्याक्ट्रीमा श्रीमानको नामबाट पैसा निकाल्न लगाएर, पछि चल्न छाडेपछि त्यहाँ लगानी भएको ४ करोड ७५ लाख रुपैयाँ ऋण आफ्नो परिवारको नाममा कागज गराएर थोपरिएको दाबी गरेकी छन् ।

बचतकर्ता र सहकारीका पदाधिकारीकै दबाबका कारण विगत ५÷६ महिनादेखि श्रीमान घर बाहिर बस्दै आएको र पछिल्लो पटक बैशाख २३ गतेमात्र सम्पर्कमा आएको उनको भनाइ छ । त्यसको तीन दिनपछि तामाङको शव सड्न लागेको अवस्थामा भेटिएको थियो ।

पक्राउ परेका पदाधिकारीले भने सहकारी तामाङले एकलौटी रुपमा चलाएको र सहकारीभित्रकै विभिन्न व्यक्तिको नाममा पैसा निकालेर त्यसलाई मुक्ति सोप फ्याक्ट्रीमा लगाएको दाबी बयानका क्रममा गरेका छन् । उनीहरुले २०७२ सालमा सहकारीले कपनमा किनेको ४ आना जग्गा तामाङको नाममा पास गरिए पनि उनले पछि उक्त जग्गा व्यक्तिगत प्रयोजनका लागि धितो राखेर पैसा निकालेको दाबी गरेका छन् ।

पछि सञ्चालक समितिका विभिन्न सदस्यको नाममा निकालिएको विनाधितोको ऋणलाई तामाङले मुक्ति सोप फ्याक्ट्रीको ऋण लगानी खातामा रकमान्तर गरेर मिलान गरेको दाबी उनीहरुको छ । अन्य विभिन्न व्यक्तिको नाममा तामाङले विनाधितो ऋण लिएको दाबी उनीहरुको छ ।

बचतकर्ताहरुले अप्ठेरो पार्न थालेपछि २०७८ पुसमा तामाङले मुक्ति सोप फ्याक्ट्रीमा लगानी भएको ४ करोड ७५ लाख रुपैयाँ बिनाधितो ऋणको जिम्मा आफूले लिएको र त्यसलाई वडा कार्यालयले समेत प्रमाणित गरेको उनीहरुको जिकिर छ । त्यसपछि अध्यक्ष तामाङ आफू तराईमा रहेको जग्गा बिक्री गरेर बचतकर्ताको हिसाब मिलाउने भन्दै सहकारी जिम्मा लगाएर हिँडेको उनीहरुले बयानका क्रममा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर